पर्सामा डेढ लाखको पटाका प्रहरीबाट नष्ट
टुडेपाटी–
वीरगञ्ज, कात्तिक १७ गते ।
पर्सामा प्रहरीले डेढ लाख बराबरको पटाका नष्ट गरेको छ । चाड पर्व नजिकिएपछि त्यसमा आतिशवाजी गर्न ल्याइएको १ लाख ५० हजार रुपैयाँ बराबरको विष्फोटक पदार्थ बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयले विभिन्न समय र स्थानबाट बरामद गरेको पटाका, भुइँचम्पा, आतिशबाजी र झुरझुरे नष्ट गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जिल्लाको विभिन्न स्थानबाट बरामद गरिएको पटाका, भुइँचम्पा, आतिशबाजी तथा अन्य विष्फोटक तथा प्रज्वलनशील पदार्थ कार्यालयमा ल्याएर नष्ट गरिएको जानकारी दिए ।
प्रहरीले रकेट पटाका ३५ प्याकेट, नागिन १ हजार २ सय ५० प्याकेट, फुलझरी ८ सय थान, रकेट फुलझरी १ सय २० प्याकेट, बिडी पटाका ७ बोरा, कोबरा र बिडी ६ कार्टुन, चकलेट पटाका ४० प्याकेट र झिरझिरे सय प्याकेट नष्ट गरिको छ । त्यस्तै टेन सट १ सय प्याकेट, सतरंगी र सेभेन सट्स २०/२० प्याकेट, स्काई रेड १५ प्याकेट, रंग दे वसन्ती १२ प्याकेट नष्ट गरिएको छ ।