धनुषामा तस्करी गराउने संगठित गिरोहको खुलासा !
संजिव मण्डल-
जनकपुरधाम, कार्तिक १६ गते ।
२०७८ कात्तिक ६ गते बिहान करीब ४ः३० बजे म र मेरो एक जना साथी धनुषाको बिदेह नगरपालिका वडा नम्बर ९ इटहर्बा स्थित महादेब मठ पछाडी रहेको नेपाल भारत दशगजामा पर्ने खरिहानी पुलमा पुगे ।
जहाँबाट सशस्त्र प्रहरीको फरवार्ड बेस एक सय मिटर दुरीमा रहेको छ भने प्रहरी चौकी इटहर्बा करिब ५ सय मिटरको दुरीमा रहेको छ ।
हामी त्यहि पुलमा गएर बाइमा अडेस लागेर बस्यौ । एकै छिन बस्दा सिमा पारी भारतबाट तीन वटा नेपाली नम्बर प्लेट र दुई वटा भारतीय नम्बर प्लेटका बाईक करिब दुई–तीन मिनेटको अन्तरमा हामी बसेको पुल तर्फ तिब्र गतिमा हुइकिदै आयो । बाइकको गति यस्तो थियो यदि कसैलाई ठोकिएको भए बच्नै मुश्किल ।
हामी भिडियो वा फोटो लिन मोबाईल खल्तीबाट निकाल्नै लागेको थियौ कि बाईकहरु हामीलाई पार गरि सक्यो । हामी हतार हतार पछाडि रहेको बाईकलाई बल्ल–तल्ल २२ सेकेन्ड जतिको भिडियो खिच्न पायौं ।
त्यसको केहि समय पछि हामी फरवार्ड बेसको दक्षिण पट्टिको बाटोमा रहेको एक चिया पसलमा गएर चिया खान थाल्यौ । त्याहा मैले तस्करीकै बिषयमा बुझ्दै थिए कि एक जना वडा अध्यक्ष त्यहि चिया पसलमा आईपुग्नु भयो । हामी उहाँलाई त्याहाँ पुग्नुको उदेश्य बतायौं । उहाँले हामीलाई तस्करीको लामै लाईन हेर्नु छ भने धनौजी गाँउपालिकाको तरही भन्ने गाँउको सिमासंग जोडिएको आँपको बगैंचामा जानु भन्नुभयो ।
त्यतिबेला लगभग बिहानको ५ः०० बजेको हुनुपर्छ । अलि अलि उज्यालो हुन लागेको थियो । हामी हतार हतार बाटो सोध्दै तरहीको आँप बगैचामा पुग्दै थियौं कि बाईकको उज्यालो देखेर बाटोमा ठुलो–ठुलो बोरामा कपडा लिएका मान्छेहरुको भागाभाग भयो । हामी भाग्दै गरेको दुई–वटा फोटो खिच्यौ ।
त्यसको ४०–५० मिटर अगाडि जादा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट धनौजीबाट खटिएका अस्थायी चेक पोस्ट जस्तो छ । बाँसको झाडीमा बाँसकै खाट जस्तो बनाएको त्यसमा एक जना जवान बन्दुकको तकिया बनाएर मस्त निद्रामा सुतेको र अर्को जना फोनमा ब्यस्त थियो ।
म बाईक त्यहि रोकेर सित चिछोल्दै दशगजामा रहेको बिमला खोला तिर गए, यो खोला वारी नेपाल र पारी भारत रहेको छ । धनुषामा तस्करहरुले प्रयोेयोग गर्ने चोरबाटो मध्येको यो मुख्य बाटो हो । यहाँबाट सम्तुल्लाह, बैतुल्लाह, धर्मेन्द्र, कयुब, तुलसी लगायतका तस्करहरुले भारतबाट रात भरी लत्ताकपडा, हार्डबेयर, इलेक्ट्रोनिक्स समान, तेल, चिनि, चप्पल, गाई गोरु लगायतका माल समान तथा चौपाया नेपाल ल्याने गरेको छ ।
हामीले बीओपी धनौजीका इन्सपेक्टर रवि बस्नेतले तस्करलाई लाइन दिएर दैनिक तस्करी गराएको भन्ने सुचना पाएर त्याहाँ पुगेका थियौं । त्याहाँको पनि फोटो लियौं । फेरी फर्केर सशस्त्र प्रहरी बसेको ठाँउमा आउँदा अलि टाढाबाट २–४ वटा फोटो लियौं । फोनमा कुरा गरिरहेका सशस्त्र प्रहरी जवानले रिसाउदै किन फोटो लिएको भन्दै मलाई हप्काउन थाले र फोटो डिलिट गर्न लगाए । म डराउदै परिचय दिदै फोटो डिलिट गरे । तर डिलिट गरेको फोटो रिसाइकल बिनमा गएर बसेको उसलाई थाहा भएन । हामी त्याहाँबाट हतार हतार आइहाल्यौ ।
Sponsored
यो सबै दृष्य हेर्दा र समचार बनाउदै गर्दा सम्म धेरै भित्र सम्म बुझ्ने प्रयास गरे । अन्तमा के कुरा बुझयौ भने धनुषामा संगठित तस्करी गराउनमा प्रहरी प्रमुख, बोर्डर आउट पोष्टका इन्चार्ज र नेपाल प्रहरीका इलाका तथा चौकी इन्चार्जहरु नै हुन ।
सशस्त्र प्रहरी बल नं.२, छिन्नमस्ता बाहिनीका तत्कालीन डिआइजी चन्द्र प्रकाश गौतमले तस्करी नियंत्रण गर्न प्रदेश भरिकै घुमुवाहरुलाई रिफ्रेसर तालिम गराएर अधिकाशंलाई प्रदेश बाहिर पठाएका थिए । बाँकीका घुमुवाहरुलाई बाहिनी भित्रै थन्काएर राखे, उनिहरुलाई हाल मालसमान पक्राउ गर्न अहिलेका डिआइजी गणेश ठाडामगरले परिचालन गरेका छन ।
डिआइजी गौतम सरुवा भएर जाने बितिकै शसस्त्र प्रहरी नं. ८ गण धनुषाका एसपी नरेन्द्र सेनले बिभिन्न बेस तथा बिओपीहरुमा आफना बिश्वासपात्र घुमुवाहरुलाई पुनः पठाएर असुली तिब्र बनाएको छ । “मर्ने बेलामा हरियो काँक्रो” भने जस्तै सरुवाको मुखमा आएर धनुषाको फुलगामा, धनौजी, इनर्बा लगायतका ठाँउहरुबाट सुरक्षित लाईन दिइ तस्करी गराउन उद्यत देखिएका छन् ।
एसपी सेनले नक्टाझिजमा प्रमोद पञ्जीयार, डेबडिहामा बिरेन्द्र पासमान, धनौजीमा देबु महतो, गणमा राम जीवन यादब लगायतका घुमुवाहरुलाई परिचालन गरेका छन् । यस मध्ये पासमानलाई हाल गणमा बोलाएका छन् ।
हिन्दीमा एउटा उखान छ “बडे मियाँ से बडे मियाँ, छोटे मियाँ सुभान अल्लाह” भन्या जस्तै एसपी सेन जस्तै बोर्डर आउट पोष्ट फुलगामाका इन्पेक्टर बाबुराम लम्सालले उमेश साह, सुल्तान मियाँ, बिन्देश्वर नायक, फेकन लगायतका ब्यापारीहरुलाई लाई लाईन दिएका छन् । यिनिहरु नेपालबाट मुख्यतः रक्सी, स्याउ, कलगेट तुथ पेस्ट, फेयर एण्ड लबली, लगायतका मालसमान भारत पठाउने गरिएको छ ।
मुखियापट्टि गाउँपालिका वडा नम्बर १ को मुसरनिया उतरबारीटोल घर भएका नागेन्द्र यादबको घरमा भारतबाट लत्ताकपडा तथा इलेक्ट्रोनिक्स समानहरु भण्डारण गरी त्यहिबाट तस्करी गर्ने गरेको छ । रात भरि बाईकमा मालसमान ढुवानी गर्दा वरपरका छरछिमेकलाई दिक्क लागिसकेको एक स्थानीयले गुनासो गरे । त्यस्तै धनुषाको पुर्बी भेग इनर्बाबाट पेट्रोल, डिजल र शिलप्याक तथा खुल्ला रक्सी भारत पठाउने गरेको छ ।
डिआइजी गणेश ठाडामगर आएदेखि तस्करी बन्द रहेको भनिए पनि गणका एसपी सेनले बिभिन्न ब्यापारीहरु संग कात्तिक महिनाको रकम समेत १० गते भित्र नै उठाई सकेको एक ब्यापारीले नाम उल्लेख नगर्ने शर्तमा बताए । श्रोतका अनुसार एसपी सेनले गफार मियाँका छोरा संग यस महिनाको २ लाख, नयुम संग १ लाख, समतुल्लाह संग १ लाख, धर्मेन्द्र संग १ लाख, तुलसी (राँगा ब्यापारी) संग ३५ हजार, उमेश संग ७० हजार रुपैयाँ उठाई सकेका छन् ।
जटही भन्सार मार्फत सुरक्षित तस्करीको लाईन दिए वापत इसमाईलका छोरा अजिजुल, अलि हसन शेख, रञ्जित रौनियार, बिजय कर्ण, सोहन जलान लगायतका ब्यापारीहरु संग एकमुष्ट रकम जलानको हातबाट २ लाख रुपैया उठाइ सकेको शसस्त्र प्रहरी श्रोतले बताएको छ ।
बेलाबेलामा एसपी सेनले सेटिङ्गमा तस्करलाई लाइन दिइ तस्करी गराएको समाचार बिभिन्न राष्ट्रिय सञ्चार माध्यममा समाचार आइरहेको छ । केहि दिन अगाडि एक सञ्चार माध्यममा आएको समाचार प्रतिकृयामा यस्ता समाचारले आफुलाई केहि नहुने र यहाँको पत्रकारको हैसियत आफुलाई थाहा भएको बताएको अडियो सुरक्षित छ ।