वीरगञ्ज : प्रहरीले नियन्त्रणमा लिएको युवतीको शव पोष्टमार्टमका लागि काठमाडौं लगियो
टुडेपाटी-
वीरगञ्ज, असोज २३ गते ।
वीरगञ्जमा अन्त्येष्टि गर्न लागिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको युवतीको शव पोष्टमार्टमका लागि काठमाडौं पठाइएको छ ।
शनिबार युवतीको शवलाई परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको हो ।
गत बिहीबार साँझ वीरगञ्ज महानगरपालिका–१२ मुली टोलको कब्रिस्तानबाट अन्तिम संस्कारको लागि लगिएको १८ वर्षीया भारतीय युवतीको शव पर्सा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बिहारको पश्चिम चम्पारण इनर्वा थाना खमिया निवासी १८ वर्षकी जयतुन खातुनको शव प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
ती युवतीको मृत्यु शंकास्पद रहेको तथा उनको अन्तिम संस्कार पनि शंकास्पद रुपमै चार जना मिलेर गरिरहेको सूचनाको आधारमा प्रहरीले शव नियन्त्रणमा लिएको थियो । युवतीको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ ।
Sponsored
सोही विषयमा थप अनुसन्धानको लागि पर्सा प्रहरीले मृतक युवतीका बुवाआमासहित ९ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका ९ जनामध्ये चार जनालाई प्रहरीले रिहा गरेका छन् ।
प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा उनीहरुको संलग्नता नदेखिएकोले छोडिएको प्रहरीको भनाइ छ । प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन ।
प्रहरी स्रोतका अनुसार जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको परिवारका सदस्य पनि प्रहरी नियन्त्रणमा छन् ।
जबर्जस्ती करणीपछि अत्यधिक रक्तस्राव भएको र उपचारका क्रममा मृत्यु भएको भनी प्रहरीले सूचना पाएको थियो । घटना लुकाउन हतारमा थोरै मानिसको उपस्थितिमा शव गाड्ने तयारी भइरहेको समयमा प्रहरी पुगेर शव नियन्त्रणमा लिएको थियो ।
युवती पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँका कान्छा छोरा जाकिर मियाँकी साली हुन् । उनी केही दिनदेखि दिदी–भिनाजुसँगै बस्दै आएकी थिइन् ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले बताए ।