TodayPati

उखु बेचेको पैसा नपाउँदा कसैले पत्नी गुमाए, कसैको छोराको ज्यान खतरामा

रोहित महतो

जनकपुरधाम, माघ २० गते ।

नेशनल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल वीरगन्जको बेड नम्बर १०१ मा मोटरसाइकल दुर्घटनामा गम्भीर बनेका सर्लाही बाँसबरीया गाउँपालिकास्थित कोठियारका १९ वर्षीय गौरी राय अघिल्लो बिहीबारदेखि उपचार गराइरहेका छन्। जटिल शल्यक्रियापछि उनी अब तङ्ग्रीन थालेका छन्। उपचारमा सोमबारसम्म पौने दुईलाख रुपैँया खर्च भइसकेको छ। डाक्टरले सुनाएअनुसार अस्पतालमा कम्तीमा १५ दिन अझै बस्नुपर्छ।

Sponsored

५५ वर्षीय उनका बुवा रामकरणका अनुसार उपचारमा सावा दुईलाख रुपैँया अझै खर्च हुन्छ। तर, उपचारका लागि न पैसा छ, न त ऋण नै पाइएको छ। पैसा अभावले उनको छोराको ज्यान नै दाउमा छ।

उखु खेतीमा नोक्सानी व्यहोर्दा र साहुसँग लिएको ऋण चुक्ता नगरेकाले गाउँमा उनलाई ऋण पाउन समस्या छ। आफन्त र छिमेकीलाई गुहार मागेर केही पैसा जम्मा गरेका छन् उनले। जग्गा बेचेर तिर्ने सर्तमा ऋण लिएका रामकरणलाई अहिलेसम्म छोराको उपचार गराएपनि थप पैसा कहाँबाट जुटाउने भन्ने चिन्ताले पार्नु पीर पारेको छ।

अन्नपूर्ण चिनी मिलले २०७४ सालको उनको करिब अढाइ लाख रुपैँया भुक्तानी दिएको छैन। उखु खेतीमै आश्रित रहेका उनी २०७४ सालमा मिटरब्याजमा लिएको ऋणको भारीले थिचिएका छन्। ‘मिलले पैसा दिएन। ५ जना छोराछोरी छन्। स्कुलको १ लाख रुपैँया तिर्न बाँकी छ। खेती, घरखर्च र औषधी उपचारका लागि लिएको ऋण ८ लाख पुगेको छ,’ रामकरणले भने, ‘चिनी मिलले हामीलाई बर्बाद बनायो। घरबार कसरी चलाउने? छोराको उपचार कसरी गराउने? जग्गा बेचेर सबैको ऋण तिर्नुपर्ला, अर्को कुनै विकल्प छैन।’

Sponsored

सरकारले अनुदान समेत गरी उखुको मूल्य ५ सय ३६ रुपैँया तोकेको छ। किसानका अनुसार १ क्वीन्टल उखु उत्पादनमा करिब ४ सय रुपैँया खर्च हुन्छ। तर चिनी मिलले भुक्तानी नदिँदा पोहोर सालको तीन विघाको उखु डेढ सय, दुई सय प्रतिक्वीन्टलको भाउमा बेच्नु परेको उनले सुनाए। ‘उखु भकारीमा राख्ने चिज होइन। बेचेन भने खेतमै सुक्छ। मिललाई दियो भने रकम पाइदैन। घरपरिवार कसरी चल्छ? ज्यानै रहेन भने त्यो पैसाको के काम?,’ उनले दुखेसको पोखे। घर परिवारको जरुरत पूरा गर्न एक हिसाबले सित्तैमा उखु बेच्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

उखु खेती गरेरै छोराछोरीलाई पढाएर ठूलो बनाउने सपना देखेका उनको मन टुटिसकेको छ। ‘अब उमेर पनि लाग्न थाल्यो। ऋण तिर्ने कि बालबच्चालाई पढाउने। अब उखु खेतीपनि छोड्ने सोचेको छु। अर्को बालीमा पैसा छैन यहाँ,’ उनले थपे।

बोल्ने र धाकधम्की दिनसक्नेले केही रुपैँया पाएको तर, सोझासाझा किसानले पैसा पाउन नसकेको उनको भनाइ छ। मिलले पैसा नदिँदा कयौ मान्छेले ज्यानै गुमाउनु परेको उनले सुनाए।

धनकौल गाउँपालिका-२ का दरोगा साहकी पत्नी गत मङ्सिरमा पत्नी हिमाचल देवीलाई गुमाउनुपर्‍यो। ‘मिलले तीन वर्षदेखि ७५ हजार रुपैँया दिएको छैन। छोरा अलग भइसकेका छन्। पैसा नहुँदा श्रीमतीको अस्पतालमै मृत्यु भयो,’ साहले भने, ‘पैसाका लागि गाउँका ठूलाबडा सबैलाई भनिसके तर पाइन। उमेर लागिसक्यो ऋण लिएर कहाँबाट तिर्ने।’

पेट र घुँडाको रोगले उनी ग्रसित छन्। पैसाको अभावमा उपचार गराउन नसक्दा पीडाले उनी छटपटाइ रहेका छन्। ‘पैसा पाए उपचार गराउँछु नभए मर्छु। अन्तिम उपाय त यहीँ हो नि,’ आँखा रसाउँदै उनले भने। भुक्तानी नपाउँदा अनेक समस्याको सामना गर्दै आएका गरिब किसानले औषधी उपचारसमेत गराउन सकेका छैनन्। अन्नपूर्ण चिनी मिलले उखु किसानको २०७३-७५ सम्मका ३८ करोड रुपैँया भुक्तानी रोकेर राखेको छ।

नेपालन्युज

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *