धनुषाको सीमानाका हुँदै नेपाल प्रवेश गर्ने भारतीयलाई कोरोना रिपोर्ट अनिवार्य देखाउनुपर्ने
टुडेपाटी-
जनकपुरधाम, असोज १६ गते ।
भारतबाट धनुषाको सीमानाका हुँदै प्रवेश गर्न चाहने भारतीय नागरिकलाई कोरोना रिपोर्ट देखाउनुपर्ने भएको छ ।
सरकारले कोरोना भाइरसको संक्रमणका कारण डेढ वर्षदेखि बन्द गरेका सीमानाका खोल्ने निर्णय भएपछि स्थानीय प्रशासनले धनुषामा पर्ने सीमावर्ती नाकाबाट नेपाल आउन चाहने भारतीय नागरिकले कोरोना रिपोर्ट देखाउनुपर्ने निर्णय गरेको हो ।
गत असोज ५ बसेको मन्त्रिपरिषद्को बैठकबाट कोरोना महामारीका कारण बन्द रहेको नेपाल भारत सीमानाका खोल्ने निर्णय गरको थियोे । सोही कार्यान्वयन गर्न गृह मन्त्रालयले भन्सार कार्यालय जनकपुरलाई पत्र पठाएपछि आजदेखि सीमानाका पूर्ण रुपमा खुल्ला गरिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र धनुषाले बन्द रहेको नेपाल भारत सीमानाका खुलेपछि नेपाल आउन चाहने भारतीय नागरिकलाई कोरोना रिर्पोट निगेटिभ भएको पत्र पेश गर्नुपर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र धनुषाको असोज १२ गते नै बसेको बैठकबाट यस्तो निर्णय भएको भन्दै भन्सार कार्यालय तथा सिमानाकामा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीलाई नेपाल आउन चाहने व्यक्तिलाई ७२ घण्टाभित्र कोभिड–१९ को नेगेटिभ रिपोर्ट साथमा लिएर आए मात्रै नेपाल प्रवेश गर्न अनुमति दिन सूचना जारी गरेको सीडीओ बास्तोलाले बताए ।
Sponsored
नेपाल प्रवेश गर्ने व्यक्तिमा कोभिड–१९ को लक्षण देखिएमा तत्कालै उसको एन्टिजेन परीक्षण गरिने र रिपोर्ट नेगेटिभ आए मात्रै नेपाल प्रवेश गर्न दिने सूचनामा उल्लेख छ । खुल्ला गरिएको नाकाहरुमा सम्बन्धित स्थानीय तहलाई स्वास्थ्य हेल्थ डेक्स सञ्चालन गर्न समेत अनुरोध गरिएको उनले जनाए ।
भारतबाट नेपाल प्रवेशका लागि धनुषाको जटही, महिनाथपुर, इनर्वा, दुहवी र धनौजी भन्सार कार्यालय तोकिएको हो । पत्र प्राप्त हुना साथ नेपाल प्रवेश गर्ने भारतीय नाकामा भन्सारका कर्मचारी परिचालन गरेको भन्सार कार्यालय जनकपुरका प्रमुख प्रमोद दासले जानकारी दिए ।
भन्सारलाई प्राप्त पत्रमा २०७६ साल चैत्र ११ गतेदेखि बन्द रहेको नेपाल भारत सिमा नाकामा खुल्ला गर्न आदेश आएकोले असोज १६ गतेदेखि धनुषाको सिमानाका खुल्ला गरिएको दासले बताए ।