जनकपुर यातायात : लिखितको नतिजा नै प्रकाशन नगरि सोझै ट्राइल
टुडेपाटी-
जनकपुरधाम, असोज १६ गते ।
यातायात व्यवस्था कार्यालय जनकपुरले लिखित परीक्षाको नतिजा नै प्रकाशित नगरी ट्राइल लिएको खुलेको छ ।
असोज १४ गते कार्यालयले कार, जीप, भ्यान, टेम्पो र अटो रिक्साको चालक अनुमतिपत्रका लागि लिखित परीक्षा लिएको थियो ।
प्रयोगात्मक (ट्राइल) परीक्षा अघि नै लिखित परक्षाको नतिजा प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था छ । तर यातायात कार्यालयले लिखितको नतिजा प्रकाशन नै नगरी तीन पांग्रे र चार पांग्रे सवारीको शनिबार बिहान ट्रायल लिएको हो ।
कार, जीप, भ्यान, टेम्पो र अटो रिक्साको लिखित परीक्षामा २२० जना सहभागि भएका थिए । तिनीहरुको नतिजानै सार्वजनिक नगरेर ट्रायल परीक्षा लिएको यातयात व्यवस्था कार्यालय जनकपुरका प्रमुख विरेन्द्र साहले स्वीकार गरे । शनिबार बिहानको लागि ट्रायल परीक्षा तोकिएको थियो ।
शुक्रबार राति ८ बजे टुडेपाटी डटकमले प्रमुख साहलाई भोलि बिहान ट्रायल परीक्षा राखिएको हो पश्न गर्दा उनले हो भन्ने जवाफ दिएका थिए । तर, लिखित परीक्षाको नतिजा अहिलेसम्म कहिँ प्रकशन भएको छैन नि ? भन्ने पश्नमा उनले एकजना कार्यालय सहयोगीलाई लिखितको नजिता टाँस्ने जिम्मा दिएको तर, ती कार्यालय सहयोगी केहि काम विशेषले बाहिर जाँदा नतिजा प्रकाशन गर्न नसकेको स्वीकार गरेका थिए ।
उनले मध्यरातमा रिजल्ट सार्वजनिक गर्ने पनि भनेका थिए । बिहानै ७ बजेदेखि लिखितमा सहभागि भएकाहरुको ट्रायल परीक्षा लिइएको छ । कार्यालयका कर्मचारी अनिल गिरीले २२० जनाले लिखित परीक्षा दिएकोमा १७० जना पास भएको बताए । ती व्यक्तिहरु नै ट्राइलमा सहभागि भएको दावी गरे ।
Sponsored
श्रोतका अनुसार आर्थिक चलखेल गरी सेटिंगमा लाइसेन्स विक्री वितरण गर्ने गरेको कारण कार्यालयले लिखित परीक्षाको नतिजा नै सार्वजनिक नगरेर सोझै ट्राइल लिएको छ ।