चोरी कसूरमा धरौटीमा रिहा भएकी महिला गाँजासहित ढल्केवरबाट पक्राउ
टुडेपाटी-
जनकपुरधाम, असोज १३ गते ।
धनुषामा अवैध लागुऔषध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका-४ पुष्पलपुर घर भइ मिथिला नगरपालिका-६ ढल्केवरमा डेरा गरी बस्दै आएकी ३५ वर्षीया सुरेखादेवी यादव रहेकी छन् ।
लागुऔषध गाँजा र अनाधिकृत रुपमा विक्री वितरण गरिरहेको ठुलो परिमाणको औषधिसहित बुधवार महिलालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।
बुधबार दिउँसो लागुऔषध विक्री वितरण गरिरहेको विशेष सूचनाको आधारमा यादवले डेरा गरी बस्दै आएको घरको खानतलासी गर्दा १६० ग्राम गाँजा र अबैध रुपमा राखिएको ठूलो परिमाणमा औषधि बरामद भएको उनले बताए ।
उनको डेराबाट स्पासमो १० पीस, भोमिन १२९ पीस, प्रेगआउट किट ८० पीस, कफट्याड-डी २१० पीस, स्पासपेन १८० पीस र ट्रुपेन २२ सय २० पीस औषधि बरामद भएको प्रहरी निरीक्षक सुवेदीको भनाइ छ ।
Sponsored
बरामद भएको औषधिहरु घरको खानतलासी गर्दा खाटमुनी अबैध रुपमा रोखेको अवस्थामा भेटिएको थियोे । सबै औषधिलाई औषध व्यवस्था विभागमा पठाउने तयारी रहेको छ ।
प्रहरीको नियन्त्रणमा रहेकी यादवको साथबाट लागुऔषध गाँजासमेत बरामद भएकोले लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा चलाइने भएको छ ।
लागुऔषधसहित पक्राउ परेका यादव यसअघि गत भदौ १९ गते चोरीको चाँदी खरिद गरेको आरोपमा पक्राउ परेका थिए । उनलाई प्रहरीले चोरी कसूरमा मुद्दा चलाएको थियो । प्रहरीका अनुसार केहीदिन अघि मात्रै उनी धरौटीमा छुटेकी थिइन् ।