सिरहामा सखुवाको काठ चोराउन खोज्ने वडाध्यक्षले गरे पत्रकारमाथि दुर्व्यवहार
विनय यादव-
सिरहा, असोज १३ गते ।
सिरहाको गोलबजार नगरपालिका-९ का वडाध्यक्ष रामपुकार कामतिले पत्रकारमाथि दुर्ववहारसहित हातपातको प्रयास गरेका छन् ।
वडाध्यक्ष कामतिले मंगलबार नेपाल पत्रकार महासंघ सिरहाका उपाध्यक्षसमेत रहेका पत्रकार गणेश प्रसाद साहमाथि दुर्ववहारसहित हातपातको प्रयास गरेका हुन् ।
सोमबार राति करिब ९ बजेतिर सालको काठ जेसीबीमा जोड गरेर लगिरहेको अवस्थामा स्थानीयहरुले समातेर प्रहरीलाई जिम्मा लगाएका थिए ।
वडा ९ स्थित जोभा प्राकृतिक वनबाट संकलन गरेर राखिएको काठ चोरी गरेर लगिरहेको अवस्थामा सालको काठसहित ना १ ग ७०६ नम्बरको जेसीबी र चालकलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । चालकले आफूलाई वडाध्यक्षले नै लान भनेको बताएपछि स्थानीयले काठसहित जेसीबी र चालकलाई प्रहरीमा बुझाएका थिए ।
Sponsored
मंगलबार स्थानीयसँग सहमति गरेर काठ र जेसीबी छुटाउनका लागि छलफल गर्न वडाध्यक्ष कामति इलाका प्रहरी कार्यालय मिर्चैया पुगेका थिए । सोही विषयमा प्रतिक्रिया लिन इप्रका पुगेका पत्रकार साहमाथि वडाध्यक्षसहित उनको १०-१२ जनाको समूहले आक्रोशित हुँदै दुर्ववहार गर्दै हातपात गर्न खोजेका हुन् ।
प्रहरीले बुधबार बिहान काठ र जेसेबी डिविजन वन कार्यालय लहानलाई बुझाएको छ । वडाध्यक्ष कामति र मेयर देवनाथ साहले स्थानीयसँग सहमति गरेर यो विषय अन्त्य गर्ने प्रयासमा थिए ।
तर, स्थानीयहरुले संलग्नलाई कारवाही हुनुपर्ने अडान राख्दा सहमति हुन सकेन । वन कार्यालय र नगरपालिकासँगको मिलेमतोमै वडाध्यक्ष कामतिले सखुवाको गोलिया चोरी गर्ने प्रयास गरेको स्थानीयको आरोप छ ।
वनमा हावाहुरीमा लडेको काठ करिब एक करोड बराबरको रहेकोमा यसरी नै चोरी पैठारी हुँदा अहिले १० लाख बराबरको पनि काठ छैन । अहिलेसम्म भएको काठ चोरीमा वडाध्यक्ष कामतिको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्नता रहँदै आएको स्थानीय बताउँछन् ।