किसानको पीडा : बजारमा ओलको उचित भाउ नपाउँदा पिरोलिए सर्लाहीका किसान
टुडेपाटी-
सर्लाही, भदौ २० गते ।
ओलले उचित मूल्य नपाएपछि सर्लाहीका किसान चिन्तित भएका छन् । तरकारी र अचार बनाएर खाने गरेको कन्दमुल ओल गत वर्ष प्रतिकिलो ५० देखि ५५ रुपैयाँसम्म बिक्री भएको थियो । तर यसवर्ष भने प्रतिकिलो ३० रुपैयाँमा ओल बिक्री नभएपछि किसानहरु पिरोलिएका हुन् ।
सर्लाहीको बरहथवा, शंकरपुर, हजरिया, राजघाटलगायत क्षेत्रका व्यावसायिक रुपमा विशेष गरी ओल खेती गरिन्छ । फागुन÷चैतमा रोपिने ओल भदौदेखि बिक्रीका लागि तयारी हुन्छ । केही किसानले थोरै मूल्यमा नै ओल बिक्री गरिरहेका छन् भने केहीले बढी मूल्य पाउने आशामा भण्डारण गरेर राखेका छन् ।
पाँच वर्षदेखि ओलको व्यावसायिक खेती गर्दै आएका बरहथवा नगरपालिका–५ हाथिडण्डाका अइते मोक्तानले यसवर्ष निकै कम मूल्य भएको बताए । उनले गत वर्ष पाँच कठ्ठामा ४० क्विन्टल ओल उत्पादन गर्दा २ लाखमा बिक्री गरेका थिए ।
यस्तै, सर्लाहीका अर्का किसान ध्रुव महतोले १० कठ्ठामा ओल खेती गर्छन् । आलु रोप्नका लागि उनी अहिले धमाधम ओल खनिरहेका छन् । तर बजार उचित भाउ नपाउँदा उनी निराश देखिन्छ । सर्लाको बागमती नगरपालिका–५ का हरिया महतोले ओलको उचित मूल्य नपाएपछि ओल स्टोक गर्न थालेका छन् । बजारमा ओलको मूल्य बढेपछि बिक्री गर्ने तयारीमा छन् उनी ।
गत वर्ष ४ कठ्ठामा २८ क्विन्टल ओल उत्पादन गरी बिक्री गर्दा करिब डेढ लाख रुपैयाँ आम्दानी गरेको किसान हरिया बताउँछन् ।
Sponsored
गर्मी महिनामा उब्जने ओलको तरकारी, अचार लगायत विभिन्न परिकार बनाएर खाने गरिन्छ । ओल सेवनले शरीरमा शक्ति ल्याउनसमेत मद्दत पूर्याउने काम गरेको चिकित्सक बताउँछन् ।