सप्तरीका ग्रामीण भेगका किसानहरु सनपाट खेतीतर्फ आकर्षित
शुभनारायण यादव-
सप्तरी, भदौ ११ गते ।
सप्तरीको विभिन्न ग्रामीण भेगका किसानहरु सनपाट खेतीलाई नगदे बालीको रुपमा ग्रहणगरेपछि अहिले उनी सो खेतीतर्फ आकर्षित भएका छन् ।
जिल्लाको पुर्वी तथा दक्षिणी भेगका विभिन्न गाविसका किसानहरु नगदे बालीको रुपमा सनपाट खेति गर्दै आएका छन् । सनपाटबाट जुटको बोरा, बाँध्ने काममा प्रयोग (सुतली) बनाउने काम हुने गर्दछ जसलाई स्थानीय भाषामा “पटुवा” भन्ने गरिन्छ । अहिले तराईको अधिकांश जिल्लामा सनपाट भण्डारण गरेर बेमौसममा बढी रकममा बिक्रि गर्ने गरिन्छ ।
सनपाट निकालेर बाँकी रहेको पदार्थ “सन्ठी” (स्थानिय भाषा) गोबरमा हालेर दाउरा (गोईठा) बनाउने गरिन्छ जसलाई खान पकाउने कार्यमा प्रयोग गर्ने गरिन्छ । “सन्ठी” चाडै बल्ने गरेकोले यसलाई आगो बाल्न तराईमा बिशेष प्रयोग गरिन्छ ।
अर्को शब्दमा भन्ने हो भने यसको प्रयोग धार्मिक प्रायोजनका लागि समेत गरिन्छ । तिहारमा मिथिलावासीले “हुक्कापाती” (स्थानिय भाषा) बनाएर पुजा गर्ने गर्दछन् । तिहार अन्तरगत लक्ष्मी पुजाको दिन मिथिलावासीले आफ्नो कुल देवतालाई “हुक्कापाती” बनाएर पुजा गर्ने गर्दछन् भने पुजा पश्चात् त्यही “हुक्कापाती” हातमा लिएर एक अर्कासँग रमाइलो गरि खेल्ने गर्ने गरेको बेल्ही चपेना गाविसका स्थानीय पुरोहित बद्री झाले जानकारी दिए । उनले भने, “सन्ठी विशुद्ध पानीबाट उब्जिएकोले यसको प्रयोग धार्मिक प्रयोजनका लागि शुद्ध मानिनाले यसको प्रयोग पुजामा गरिन्छ ।”
जिल्लाको देउरी भरुवा, बभनगामाकट्टी, मधेपुरा, इनर्वा, हनुमाननगर, योेगिनिया, भारदह, पोर्ताहा, रम्पुरा मल्हनिया, लौनिया, तिलाठी, सकरपुरा, कोचाबखारी, बरही बिरपुर सहितका विभिन्न गाविसका किसानहरुले सनपाट खेतिबाट वर्षेनी राम्रो आम्दानी गर्दै आएका छन् ।
Sponsored
रम्पुरा मल्हनिया ४ का रामेश्वर यादवले करिब दुई विगहा जग्गामा सनपाट खेति गरेर बार्षिक ५ लाख आम्दानी गर्दै आएको बताउँछन् । उनीजस्तै त्यहाँका दर्जनौं किसानहरु सिचाईको उचित व्यवस्था नहुदाँ तथा समयमा वर्षा नभएका कारण धान, गहुँको खेति गर्न छाडेर नगदे बालीको रुपमा सनपाट खेति गर्न थालेका छन् । सनपाट खेतिबाट सिजन अनुसार राम्रो आम्दानी भईरहेको अर्का किसान बद्री यादवको कथन छ । “सनपाटको खेती गरेर एक सिजनमा करिब ३ देखी ५ लाखसम्मको आम्दानी हुने गरेकोले अहिले यसलाई नै प्राथमिकता दिएको छु,” उनले थपे ।
यसअघि पहिल्लो पटक यादवले सनपाटको खेति शुरु गर्दा त्यसबाट आम्दानी हुन्छ कि हुँदैन भन्ने डरले ५ कठामा मात्र गर्नुभएको थियो, तर पछि सनपाट खेतिबाट राम्रो आम्दानी हुन थालेपछि अहिले उनले करिब ३ विगहा जग्गामा सनपाट खेति गर्दै आइरहनु भएको छ । स्थानीय बुद्धिजिवि एवं सप्तरीका वरिष्ठ पत्रकार अनिल कुमार अनल बताउँछन्, “विगतमा एक मन सनपाट बिक्री गर्दा किसानले एक भरि सुन किनेर लाने गर्दथ्यो, तर अहिलेको परिवेशमा यो किवदन्ति भइसकेको छ ।”
नगदे बालीको रुपमा सनपाट खेति राम्रै रहेकोले जिल्लाका विभिन्न भेगका किसानहरु सनपाट खेति गरेर राम्रो आम्दानी गर्दै आएको कृषि ज्ञान केन्द्र राजविराज सप्तरीले जनाएको छ । समयमा वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था हुन नसकेका कारण जिल्लाको पुर्वी, उत्तरी, पश्चिमी र दक्षिणी भेगका विभिन्न वडाका किसानहरुले सनपाट खेती गर्दै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।