भारततर्फ दुई युवतीलाई बेच्न लग्ने दम्पती वीरगञ्जबाट पक्राउ, यस्तो थियोे प्रलोभन !
टुडेपाटी-
वीरगञ्ज, जेठ २१ गते ।
वीरगञ्जबाट चेलीबेटी बेचबिखन गर्ने एक भारतीय दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।
दुई जना २ जना युवतीलाई बेचबिखन गर्ने उदेश्यले भारततर्फ लैजाँदै गरेको अवस्थामा ती दम्पतीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत, राज्य बिहार, जिल्ला पूर्वी चम्पारण, थाना पहाडपुर, ग्रामपञ्चायत अहिरओलिया गोदाम–४ ठेगाना भएका २७ वर्षका अस्गर सैफी र उनकी श्रीमती तनहुँको दमौली नगरपालिका–५ बस्ने सकिना खातुन भन्ने सीता थापा क्षेत्री छन् ।
पक्राउ परेका दुवैजनाले गोरखा घर भएका वर्ष २० तथा २२ वर्षकी युवतीलाई उनीहरूकै घरबाट बाँकेस्थित नेपालगञ्जमा रहेको एक मन्दिरमा कन्यापूजा गर्न १ घण्टाका लागि कन्याको रूपमा गएबापत जनही ५० हजार दिने भनी ललाइफकाई नेपालगञ्जसम्म ल्याएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
पछि पैसा लिन वीरगञ्ज बजार जानुपर्छ भनी झुक्याई वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वा नाकासम्म पुर्याएका थिए ।
त्यहाँ पुर्याए दम्पतीले पैसा लिन पुनः भारतको बेतिया जानुपर्छ भनी मानव बेचबिखन गर्ने उद्देश्यले दुबै युवतीलाई सीमा पार गराउन लाग्दा प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले पीडित युवतीको उद्धार गरेको खनालले बताए ।
Sponsored
युवतीलाई लैजाँदै गरेका दम्पतीलाई पक्राउ गरी उनीहरूविरूद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत कसूर गरेको अभियोगमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।