गौशालामा ७० लाखको लागतमा निर्माण भइरहेको विद्यालयमा गुणस्तरहीन रडको प्रयोग
धनवीर महतो-
महोत्तरी, जेठ ८ गते ।
गौशाला नगरपालिकाको कार्यालयद्धारा निर्माण भइरहेको श्रीमावि भेडियाही फुलकाहाको निर्माणाधिन भवनमा गुणस्तरहीन रड प्रयोग भएको पाइएको छ ।
नगर विकास योजनामार्फत निर्माण भइरहेको सो दुईतल्ले भवनमा पुरानो एवम् कामै नलाग्ने रडको प्रयोग भएको हो । ७० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको भवनको सिढी लगायतका स्थानमा जीर्ण रड प्रयोग गरिएको छ ।
४ कोठा तल र ४ कोठामाथि गरि ८ वटा कक्षाकोठा भवन निर्माण भइरहेको सो भवन निर्माणको क्रममा अनेकौपटक नगरपालिकाका जनप्रतिनिधी एवम कर्मचारीहरुले अनुगमन गर्दा समेत सोतर्फ कसैको ध्यान पुग्न नसक्दा भवन निर्माणको क्रममा कामै नलाग्ने रडको प्रयोग भएको हो । भवन निर्माणको क्रममा रडको अपुग भएपछि तत्कालको समयमा पुरानो रड प्रयोगमा ल्याएको उपभोक्ता समितीका अध्यक्ष रामबाबु यादवले बताए ।
निर्माणस्थलमा रहेको पुरानो एवम कामै नलाग्ने रड अब प्रयोगमा नल्याउने अध्यक्ष यादवको भनाई छ । गुणस्तरहीन रड केहीमात्रामा भवन निर्माणको क्रममा प्रयोग भएको अध्यक्ष यादवले स्वीकार समेत गरेका छन् ।
यस सम्बन्धमा वडा नं. ६ का वडाअध्यक्ष नथुनी राउतले अब यस्तो गुणस्तरहीन सामग्रीहरु प्रयोगमा नल्याउने प्रतिवद्धता व्यक्त गरे ।
आफुले नियमित रुपमा अनुगमन गर्दै आएको र सिढीको संरचना निर्माण गर्ने क्रममा रडको भने प्रयोग भएको वडाअध्यक्ष राउतले बताए । गाँउमा रहेको सो विद्यालय संचालन गर्नका लागि भौतिक संरचनाको अभाव भएपछि नगरपालिकाको कार्यालयले गाँउभन्दा टाढा चौरीमा सो विद्यालयको नयाँ संरचना निर्माण गरिरहेको छ ।
Sponsored
यस सम्बन्धमा आफूलाई जानकारी नभएकोले अनुगमन गरि वास्तविकता पता लगाउने गौशाला नगरपालिकाको ईन्जिनियर प्रवीण सिंहले बताए । आफू लकडाउनको समयमा घरमै रहेकोले यस सम्बन्धमा सव ईन्जिनियरसँग जानकारी लिईने ईन्जिनियर सिंहले प्रतिक्रिया दिए ।