भारत : सरकारी आँकडाले होइन, जलिरहेको चिताले बताउँछ– कति भयावह छ कोरोना कहर
टुडेपाटी-
जनकपुरधाम, वैशाख १४ गते ।
मैले पहिलो पटक यति धेरै संख्यामा जलिरहेका चिता देखेको हुँ । एकै दिन दिल्लीका तीन श्मशानघाटमा यो दु:ख तथा अफसोसले भरिएको दृश्य देखियो । जुन शवहरू जलिरहेका थिए, ती सबै कोरोना भाइसकै सिकार भएकाहरू थिए ।
शनिबार मैले दिल्लीका अस्पतालमा अक्सिजन, आईसीयू बेड, भेन्टिलेटर तथा औषधिसँग जुझिरहेका संक्रमितहरू देखेको थिएँ । आखिरी सास लिइरहेका कैयौँ मानिसका आफन्तहरू आँसु बगाइरहेको देखेको थिएँ । सोमबार श्मशानघाटमा वृद्धवृद्धा, जवान तथा बलबालिका एकअर्कालाई अँगालो हालेर रोइरहेका थिए । चिता जलाउनका लागि आफ्नो पालो पर्खिरहेका मानिसहरू देखेँ । जब श्मशानघाट पनि सानो भयो, तब खुला मैदान पनि श्मशानघाट बनेको थियो, ताकि आउँदै गरेका शव जलाउन सकियोस् ।
सरकारी तथ्यांकअनुसार दिल्लीमा कोरोनाका कारण पछिल्ला दिनमा दैनिक ३ सय ५० देखि ४ सय मानिसको मृत्यु भइरहेको छ । तर, मैले तीन श्मशानघाटमा केही घण्टामै १०० भन्दा बढी चिता जलिरहेको देखेँ ।
सराय काले खाँमा रिङरोडनजिक एक विद्युतीय शवदाहगृह छ । त्यहाँ एकसाथ थुप्रै चिता जलिरहेका थिए । अर्काेतर्फ आइरहेका शवहरूको अन्तिम संस्कारको तयारी भइरहेको थियो । आफन्त तथा एम्बुलेन्सको भीड थियो । एक समयमा करिब १०-१२ शव जलाइरहेको थियो ।
अन्तिम संस्कार गराउनका लागि त्यहाँ एक पण्डित थिए, जो यति ब्यस्त थिए कि उनीसँग कुरा गर्न पनि मुस्किल थियो । मैले जब आफ्नो मोबाइलबाट भिडियो लिन खोजेँ, गर्मीका कारण फोनले काम गरेन । मैले ती पण्डितलाई सोधेँ, ‘यहाँ प्रत्येक घण्टामा कति शव आउँछन् ?’ उनले मतिर नहेरी जवाफ दिए, ‘यहाँ २४ सै घण्टा शव आइरहेका छन् । सङ्ख्या कसरी याद राख्नु ?’
Sponsored
केही मिनेटको अन्तरमा शव लिएर एकपछि अर्को, दोस्रोपछि तेस्रो एम्बुलेन्स भित्र आइरहेको छ । मेरे टाउको घुम्न लाग्यो । हत्या र घटनाको ‘कभर’ गरेको थिएँ तर, सामूहिक अन्तिम संस्कार पहिले देखेको थिइनँ । एकातर्फ चिताबाट निस्किएको आगोको गर्मी, अर्कातर्फ घाम अनि सिरदेखि पाउसम्म ढाकिएको पीपीईका कारण मलाई त्यहाँ बस्न मुस्किल भयो । सायद म भावुक भएँ ।
केही समयपछि म त्यहाँबाट निस्किएँ । बाहिर एक महिला रिपोर्टरले भनिन्, केही पर खुला मैदानमा श्मशानघाट बनाइँदै छ ।
त्यहाँ पुग्दा मैले देखेँ- थुप्रै मजदुरहरू खुला मैदानमा चिताका लागि २०-२५ प्लेटफर्म बनाउँदै थिए । त्यहाँ रहेका एक व्यक्तिले भने कोरोनाबाट मर्नेहरूको सङ्ख्या थप बढेमा यो आगामी दिनका लागि तयारी हो ।
लोदी रोड विद्युतीय शवदाहगृहमा भीड धेरै थियो । ठूलो सङ्ख्यामा चिताहरू जलिरहेका थिए । त्यहाँ मृत्यु हुनेहरूका आफन्त पनि थिए । एकै परिवारका सदस्यहरू एकअर्काको अँगालोमा रोइरहेका थिए ।
एम्बुलेन्स आइरहेको थियो र शवहरूलाई उतारिइरहेको थियो । मैले गन्ती त गरिनँ तर, एकसाथ २०-२५ चिताहरू जलिरहेका थिए । केही आफन्तहरू पीपीई लगाएर आएका थिए ।
पीपीई लगाएका एक युवा छेउमा रहेको एक बेन्चमा चुपचाप बसेका थिए । कोरोना संक्रमित उनका पिताको सोमबार बिहान मृत्यु भएको थियो । त्यहाँ रहेका सबै मानिस आफन्तलाई अलबिदा भन्न आएका थिए ।
सीमापुरी श्मशानघाट
सीमापुरी स्मसान घाटमा अलि कडाइ छ । यसका बाबजुद भित्र चिताहरू जलिरहेका छन् । आफन्तहरूले स्वयम् शव ल्याइरहेका थिए र जलाउन आवश्यक दाउराको व्यवस्था पनि आफैँ गरिरहेका थिए । त्यहाँ बजरंग दलका एक युवा भेटिए जो एम्बुलेन्स सेवामा जोडिएका थिए । ती युवाका अनुसार उनी १० दिनदेखि लगातार अस्पतालबाट शव लिएर यहाँ आइरहेका छन् । शिखको एक संस्थाले यहा सेवासुविधा पुर्याउने कोसिस गरिरहेको छ । तर, मानिस धेरै थिए ।
एक सरदारले भने, ‘पछिल्ला केही दिनदेखि हालत यति खराब भएको छ कि अब मानिसलाई भन्नुपर्ने अवस्था आएको छ– अब अर्को श्मशानघाट जानुस् ।’ उनी त्यहाँ सहयोगका लागि खटिएका छन् । उनको दाबी छ, ‘त्यहाँ दैनिक १०० भन्दा बढी चिता जलाइने गरिएको छ ।’
म केवल तीन श्मशानघाट गएँ । दिल्लीमा दर्जनौँ श्मशानघाट छन् । कोभिड मामिलामा उछाल तथा यसका कारण भएको मृत्युको अनुमान यहाँ आएर हुन्छ । सरकार कोभिडबाट मृत्यु भएकाहरूको सङ्ख्या घटाएर बताइरहेको छ । यो कुरा लगातार जलिरहेका चिताहरू देखेपछि थाहा पाइन्छ । बीबीसी