बटेश्वरका समाजसेवी महतोको कामले गाउँ झिलीमिली, व्यक्तिगत खर्चमा पोल-पोलमा बत्ती जडान
टुडेपाटी-
जनकपुरधाम, वैशाख २ गते ।
धनुषाको बटेश्वर गाउँपालिकामा स्थानीय सरकारको उदासिनताले अन्धकार छाएपछि एक समाजसेवीले आफ्नो व्यक्तिगत खर्चमा पोलमा बत्ती जडान गरेका छन् ।
बटेश्वर गाउँपालिका-२ बस्ने रामनाथ महतोले वडा नम्बर १ स्थित सोनापुरको हरेक पोलमा बत्ती जडान गरेका हुन् ।
टोल झिलीमिली बनाउन आफ्नो व्यक्तिगत खर्चमा उनले १९ वटा एलइडि बल्ब जडान गरेका हुन् ।
सकरात्मक सोँचका साथ नयाँ वर्षको सुरुवातमा आफ्नै पारिश्रमिकको केही अंश लगानी गरि गाउँभरि सडकबत्ती जडान गरि टोल झिलीमिली बनाउन पाउँदा आनन्द महसुस भएको उनले बताए ।
Sponsored
करिब ७५ घरधुरी रहेको सोनापुरमा विजुलीबती नहुँदा स्थानीयहरु अन्धारमय बाटो हिड्न बाध्य भएका थिए ।
अन्धकारमय बाटो हुँदा चोरिको घटना तथा वन्यजन्तु गाउँमा पस्ने सम्भावना रहेकाले त्यसबाट जोगिने उदेश्यले समेत बत्ती जडान गरेको समाजसेवी महतोले बताए ।
साथै उनले बत्ती बिग्रए मरम्मत सम्भार गर्ने समेत प्रतिबद्धता जनाएका छन् । बत्ती जडान भएपछि टोलबासी खुशी देखिएका छन् ।
समाजसेवी महतोले गतवर्ष पनि बटेश्वर गाउँपालिका वडा नम्बर २ स्थित धुमासन टोलमा समेत करिब दुई दर्जन बत्ती जडान तथा मर्मत सम्भार गरेका थिए ।
समाजसेवी महतोले लकडाउनका बेला विपन्नलाई व्यक्तिगत खर्चमा खाद्यन्न, त्रिपाल लगायतका समाग्री वितरण गरेपछि प्रशांसा बटुलेका थिए ।