अब काठमाडौं प्रवेश गर्ने शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण हुने
टुडेपाटी-
काठमाडौं, चैत २३ गते ।
काठमाडौं भित्रिने नाकामा शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण हुने भएको छ । काठमाडौं जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले अब काठमाडौं प्रवेश गर्नेमध्ये शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्नुपर्ने निर्णय गरेको हो ।
सम्बन्धित स्थानीय तहहरूलाई नाकाहरूमा हेल्थ डेस्क स्थापना गरेर शंकास्पद व्यक्तिहरूको एन्टिजेन परीक्षण गराउन निर्देशन दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।
साथै सबै स्थानीय तहहरूलाई क्वारेन्टिन र आइसोलेसन सेन्टर व्यवस्थापन गर्न पनि भनिएको छ । तर नाकाहरूमा कहिलेबाट एन्टिजेन परीक्षण सुरू गर्ने समय तोकिएको छैन । त्यसका लागि स्थानीय तहहरूले नै समन्वय र कार्यान्वयन गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।
पछिल्लो समय भारतमा कोरोना संक्रमण दर बढेको र त्यसको जोखिम नेपालमा पनि रहेको औल्याउँदै उपत्यका प्रवेश गर्ने मानिसहरूमा जाँच कडा पार्न लागिएको छ ।
Sponsored