घरेलु मदिरा सेवनले २० जनाभन्दा बढीको मृत्यु हुँदा समेत प्रदेश २ सरकार केही बोलेनन, जताततै विरोध
टुडेपाटी
जनकपुरधाम, चैत ३ गते ।
अवैध घरेलु मदिरा सेवनले धनुषामा हालसम्म २० जना बढीको मृत्यु भइसकेको छ । प्रहरी र प्रशासनकै संरक्षणमा चलेका मदिरा भट्टी संचालन र विक्रि वितरणकै कारण यति ठूलो घटना भएको भन्दै गाउँ गाउँमा आक्रोश छ । घटना भएका गाउँ शोकमग्न छ । स्थानीय जनप्रतिनिधिले समेत यसबारेमा केही नगरेको भन्दै स्थानीयहरु उनीहरुप्रति समेत आक्रोशित छन् ।
प्रदेश २ को प्रदेशसभामा समेत सांसदहरुले अवैध घरेलु मदिरा भट्टी प्रहरी, प्रशासनकै संरक्षणमा चलेको भन्दै सरकारलाई तुरन्त यसबारेमा पहल गर्न माग गरेका थिए । नेपाल कमयुनिष्ट पार्टी (नेकपा) सांसद शत्रुधन महतो, रामचन्द्र मण्डल सत्तारुढ समाजवादी पार्टीकी सांसद चमेली देवी दास, काँग्रेस संसदीय दलका नेता राम सरोज यादव लगायतले सरकारसँग यसको वारेमा जवाफ समेत मागेका थिए ।
तर लगातार तीनदेखि चलेको प्रदेशसभामा सरकारले यसबारे मौन छ । सरकारले दुःख समेत व्यक्त नर्दा जनताहरु समाजिक संजालमा प्रदेश सरकारको कडा आलोचना गरेका छन् । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवकै निर्वाचन क्षेत्रमा १४ जनाभन्दा बढीको विषाक्त मदिरा सेवनले मृत्यु भइसक्दा समेत उनले पनि केही बोलेका छैनन् । सरकारको यो मौनता देखेर जनता निराश र आक्रोशित भएका हुन् ।