TodayPati

जनकपुरमा आरतीमाथि एसिड छयापेका सञ्जीवलाई १५ वर्ष ६ महिना जेल सजाय माग

टुडेपाटी-

जनकपुरधाम, फागुन ७ गते ।

श्रीमतीलाई एसिड छयाप्ने जनकपुरका एक युवकलाई क्षतिपुर्ती सहित १५ वर्ष ६ महिना जेल सजाय माग गरिएको छ ।

Sponsored

गत कात्तिक २९ अर्थात् लक्ष्मी पूजाको दिन बिहान सञ्‍जीवले जनकपुरधाम–७ स्थित डेरामा आरती साहलाई एसिड छयापेको थियो ।

सरकारी वकिल कार्यालय धनुषाका न्यायाधिवक्ता सीताराम अर्यालका अनुसार सञ्जीवविरुद्ध एसिड प्रहार गरी अंगभंग गरेको कसुरमा ५ वर्ष, शरीर कुरूप बनाएको कसुरमा ८ वर्ष र एकीकृत कसुरमा २ वर्ष ६ महिना गरी १५ वर्ष ६ महिना कैदसहितको अभियोग दर्ता गराइएको छ ।

कानुनअनुसार उपचार खर्च र क्षतिपूर्तिसमेत उपलब्ध गराउन माग गरिएको छ ।
आरतीको ५ वर्षअघि धनुषा सबैला नगरपालिका–६ का २६ वर्षीय सञ्‍जीव साहसँग विवाह भएको थियो । तर श्रीमान्सँगको सम्बन्ध सुमधुर हुन सकेन ।

Sponsored

दुवै जनाबीच सम्बन्धविच्छेद गर्न जिल्ला प्रहरी हुँदै अदालत जाने सहमति भएको थियो । सम्बन्धविच्छेद हुने भएपछि आफ्नो सौन्दर्यता बिगार्न श्रीमान्ले एसिड छ्यापेको आरती बताउँछिन् ।

एसिडबाट आरतीमात्र होइन, उनकी छोरी रियाको समेत हात र टाउकोको केही भाग जलेको थियो ।

करिब ३० प्रतिशत जलेको आरतीको अनुहारको दाहिने भागको छाला प्रत्यारोपण गरिएको छ । आरतीको उपचारमा सरकारले नै सहयोग गरिरहेको छ ।

आरतीलाई प्रदेश २ को मुख्य न्यायाधिवक्ताको कार्यालयमा आगामी साउनदेखि जागिर दिने प्रक्रियासमेत अघि बढाइएको छ ।

आरतीको जिल्ला अदालत धनुषामा फागुन १९ मा बकपत्रको मिति तोकिएको प्रदेश सरकारका तर्फबाट निःशुल्क कानुनी सहयोग गरिरहेकी प्रदेश कानुन सहायता अधिकृत रिंकुकुमारी यादवले बताइन् ।

उनका अनुसार त्यसपछि मात्रै यस मुद्दामा थप अनुसन्धान र न्याय निरूपणको प्रक्रिया अघि बढ्नेछ ।

यसअघि जिल्ला अदालतले श्रीमती र छोरीलाई एसिड छ्याप्ने सञ्जीवलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइसकेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *