तोकिएकै मितिमा निर्वाचन हुन्छ, ढुक्क भएर बस्नुस : प्रमुख निर्वाचन आयुक्त
टुडेपाटी-
काठमाडौँ, फागुन ७ गते ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् ।
आगामी वैशाख १७ र २७ मा हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन उनले आह्वानसमेत गरेका छन् ।
पाँचौ निर्वाचन दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रमुखआयुक्त थपलियाले सरोकारवालाहरुको सक्रिय सहभागिता र सहमतिमा सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्ने गुरुत्तर दायित्व पूरा गर्न दृढ संकल्पित रहेको उल्लेख गरेका छन् ।
थपलियाले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको समेत स्पष्ट पारेका छन् ।
Sponsored
थपलियाले भनेका छन्, ‘चुनावलाई आम सहभागितामा सम्पन्न गर्न राजनीतिक वातावरण तयार गर्ने कार्यमा सरकार, राजनीतिक दल, सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सञ्चार जगत, नागरिक समाज, मतदातालगायत निर्वाचनका सबै सरोकारवालाको संलग्नता, सहयोग, समन्वय, सहकार्य र सहभागिता रहनेमा आयोग छ ।’
थपलियाले निर्वाचनको लागि विभिन्न तयारीहरु जारी राखिएको समेत उल्लेख गरेका छन् ।
‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ निर्वाचन आयोगले आज पाँचौं निर्वाचन दिवस मनाउँदैछ ।