TodayPati

प्रदेश २ का प्रत्येक निवार्चन क्षेत्रमा न्युनतम ५ किलोमिटर ‘पिच’ बन्दै

टुडेपाटी-
जनकपुरधाम, फागुन १ गते ।

प्रदेश २ का प्रत्येक निर्वाचन क्षेत्रमा न्युनतम ५ किलोमिटर पक्की सडक निर्माणको योजना अन्तर्गत ३ सय २० किलोमिटर पक्की सडक निर्माण भइरहेको भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बताएका छन् ।

मन्त्री सोनलले शनिबार प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले वार्षिक प्रगति विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मार्फत यस्तो बताएका हुन् ।

Sponsored

‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम अन्तर्गत प्रदेश २ का ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा सडक निर्माणको कार्ययोजना चलिरहेको उनले जानकारी दिए । चालु आर्थिक वर्षदेखि क्रमागत रूपमा सडक निर्माण थालिएको मन्त्री सोनले बताए ।

जसमध्ये ५१ किलोमिटर कालोपत्रे सडक, ७५ किलोमिटर ढलान, १७० किलोमिटर ग्राभेल तथा ६० किलोमिटर नयाँ बाटो खोल्ने गरी निर्माण गरिएको छ ।

मन्त्री सोनलले कोरोना महामारीका कारण आशा गरे अनुरुप कार्य गर्न नसके पनि उपलब्ध स्रोत साधनलाई समुचित प्रयोग गरिएको बताए । प्रदेशभित्र सडक निर्माण, सिँचाइ, खानेपानी, भौतिक संरचना निर्माण लगायतको क्षेत्रमा आफ्नो मन्त्रालयले व्यापक रुपमा काम गरेको उनले दाबी गरे ।

Sponsored

त्यस्तै सिँचाई तर्फ चालु आर्थिक वर्षमा ५ हजार ४३० हेक्टर थप जग्गा सिँचित गरिएको प्रगति विवरणमा उल्लेख छ । मन्त्री सोनलले ८ वटै जिल्लामा मझौला सिँचाइ योजना कार्यान्वयनमा ल्याइने बताए । प्रत्येक जिल्लामा ४ सय हेक्टर जग्गा लाभान्वित हुने गरी ३र४ वटा मझौला सिँचाइ योजना सञ्चालनमा ल्याइने उनले बताए ।

मन्त्रालयको प्रगति विवरणका अनुसार गत आर्थिक वर्षमा प्रदेश भित्र २६ वटा धर्मशाला निर्माण, ८ वटै जिल्लामा गरी ९ वटा दलित छात्रावास निर्माण ८ वटा ज्येष्ठ नागरिक आवास निर्माण सम्पन्न भएको छ ।

आर्थिक वर्ष ०७६/७७ मा प्रदेशभित्र ४९ वटा नयाँ हेडवर्क्सका निर्माण भइरहेको समेत उनले बताए ।

संघ सरकारको सहयोगमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले सञ्चालन गर्दै आएको जनता आवास कार्यक्रम तर्फ ४ हजार ६५९ घर निर्माणको सम्झौता भएकोमा हालसम्म २ हजार १०१ घर निर्माण भई हस्तान्तरण भइसकेकोे र २ हजार ५५८ घर चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गरिने मन्त्री सोनलले जानकारी दिए ।

मन्त्री सोनलले १६५ वटा नहर प्रणालीको मर्मत सम्भार गरी पानी सञ्चालन गर्नुका साथै २४० वटा डिप ट्युबवेल तथा ३३ वटा पावरड्रिल ट्युबवेल जडान गरी प्रदेशभित्र करिब ३ हजार ८० हेक्टर सिँचित क्षेत्रफल वृद्धि भएको दाबी गरे ।

प्रदेशभित्र १० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म ३ वटा झोलुङ्गे पुलको निर्माण सम्पन्न भइसकेको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।

त्यस्तै नदी कटान र डुबानबाट करिब १ हजार ५ सय हेक्टर खेतीयोग्य जग्गा संरक्षण र २० वटा जोखिमयुक्त बस्ती संरक्षण गर्नुका साथै २० वटा नयाँ खानेपानी योजनाको सुरुवात तथा ६५ किमि खानेपानी पाइपलाइन विस्तार गरिएको मन्त्री सोनलको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *