सिरहामा विद्युत् महसुल नबुझाउने ९० जना ग्राहकको लाइन काटियो
टुडेपाटी-
सिरहा, माघ ६ गते ।
लामो समयदेखि विद्युत् महसुल नबुझाउने ९० जना ग्राहकको विद्युत् लाइन काटिएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले एक महिनाको अवधिमा ९० जना ग्राहकको विद्युत् लाइन काटेको हो ।
विद्युत् लाइन काटिएकामध्ये ६० जनाबाट ६० लाख ३५ हजार बक्यौता असुल भएको र बक्यौता रकम बुझाउनेको पुनः लाइन जडान गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जीतेन्द्रकुमार यादवले जानकारी दिए ।
विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले ५० हजारभन्दा बढी बक्यौता बाँकी रहेका २ सय २० जना ग्राहकको सूची तयार गरेर विद्युत् लाइन काट्न सुरु गरेको प्रमुख यादवले बताए । विद्युतको बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटकपटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको प्रमुख यादवको भनाइ छ ।
उनका अनुसार पहिलो चरणमा लामो समयदेखि बक्यौता रकम नबुझाउने तीन फेजका २ सय २० जना ग्राहकको विद्युत् लाइन काटिने र पछि थप ग्राहकको लाइन काटिने छ । ग्राहकबाट विद्युत् महसुलबापत करिब ३० करोडभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ ।
गार्हस्थ्य मिटरतर्फ १९ करोड १४ लाख ५ सय १६, व्यापारिक मिटरतर्फ ९९ लाख ७१ हजार ४ सय ३९, गैर व्यापारिक मिटरतर्फ १ करोड ५८ लाख र औद्योगिक मिटरतर्फ ४ करोड २६ लाख ३८ हजार ८ सय ३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताए । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानमा ४५ हजार ग्राहक रहेका छन् । रासस
Sponsored