TodayPati

प्रदेश २ : सामुहिक बलात्कारको शिकार भएकी युवतीलाई आत्महत्या गर्न बाध्य पारेका पञ्च पक्राउ

टुडेपाटी

सप्तरी, पुस ८ गते ।

सामुहिक बलात्कारको घटनामा पीडितलाई आत्महत्या गर्न बाध्य पारेको घटनामा फरार रहेका एक मुख्य पञ्च पक्राउ परेका छन् ।

Sponsored

सप्तरीमा सामुहिक बलात्कारको घटनाबाट पीडित १७ वर्षीया बालिकालाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा फरार रहेका मुख्य पञ्च शत्रुघ्न मण्डल सोमबार पक्राउ परेका हुन् ।

पीडित परिवारलाई वयान परिवर्तन गर्न दवाव दिंदै गाउँघरमै बसेका आरोपितलाई राजविराज आएका बेला जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले पक्राउ गरेको हो।

धानखेतमा पानीको अवस्था हेर्न गएकी पीडितमाथि सामुहिक बलात्कार भएको जानकारी दिंदै पीडितकी आमाले प्रहरी कार्यालय जान खोज्दा पञ्चहरू ५० वर्षीय शत्रुघ्न मण्डलको घरमा पञ्चायत बसी पञ्चहरुले पीडित पक्षलाई धम्क्याउँदै उजुरी गर्न रोकेको र आरोपितहरूबाट ५५ हजार क्षतिपूर्ति भराउने निर्णय गरेको पीडितकी आमाको आरोप छ।

Sponsored

प्रहरीले कारवाही अगाडि बढाएपछि आरोपित पञ्चहरुले उजुरी फिर्ता लिन र वयान परिवर्तन गर्न पीडितकी आमालाई दवाव दिंदै आएका छन्।

सप्तरी जिल्ला अदालतले फरार रहेका मण्डलसहित नौ जना आरोपितलाई मङ्सिर २६ गते सात दिने पक्राउ पुर्जी जारी गरेको थियो। सात दिनभित्र पक्राउ भै नआएमा ३५ दिने पक्राउ पुर्जी तामेल गरी तदारुखताका साथ खोजतलाश गर्दै पक्राउ गरी अदालतमा उपस्थित गराउन इलाका प्रहरी कार्यालय कल्याणपुरलाई अदालतले पत्राचार गरेको थियो।

प्रहरी चौकी प्रवाहाका प्रहरीले गाउँघरमै रहेका आरोपितलाई पक्राउ नगरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी आरोपित राजविराज आएको खबर गरेपछि मण्डल राजविराज ६ बाट पक्राउ परेका हुन्। पक्राउ परेका आरोपितलाई जिल्ला अदालतमा हाजिर गराइएको डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिए।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरका १७ र १६ वर्षीय किशोरहरु, २७ वर्षीय धर्मदेव मण्डल र २५ वर्षीय बिसु भनिने विष्णु मण्डलले बलात्कार गरेको उजुरी गर्न पञ्चहरूले रोक लगाएपछि भदौ ३० गते आत्महत्या गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय, कल्याणपुरमा असोज १ गते उजुरी दिएकी थिइन्।

प्रहरीले आत्महत्या दुरुत्साहनमा भदौ ३० गते शत्रुघ्नका दाजु ६५ वर्षीय जयकान्त, ६० वर्षीय बासुदेब मण्डल र ५० वर्षीय सत्यनारायण मण्डललाई तथा बलात्कारको आरोपमा दुई किशोरलाई असोज १ गते राति पक्राउ गरेको थियो।

जिल्ला अदालतले १७ र १६ वर्षीय दुई आरोपितलाई असोज २७ गते पुर्पक्षका लागि बालसुधार गृह विरगञ्ज पठाउने आदेश गर्‍यो भने आत्महत्या दुरुत्साहन मुद्दामा जयकान्त, बासुदेव र सत्यनारायण जनही १ लाख १० हजार धरौटी राखेर पुर्पक्षका लागि रिहा गर्ने आदेश गर्‍यो।

बलात्कारको आरोपमा अदालतले धर्मदेव र विष्णु मण्डल विरुद्ध तथा आत्महत्या दुरुत्साहनको आरोपमा शत्रुघ्न, उनका भाइ ४५ वर्षीय देबु मण्डल, ५५ वर्षीय झमेली मण्डल, ४५ वर्षीय उचितलाल मण्डल, ५५ वर्षीय रामजी भनिने बेचन मण्डल, ४५ वर्षीय बिन्देश्वर मण्डल र ४५ वर्षीय बंशराज मण्डलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *