TodayPati

प्रदेश २ : रुपैँया, सुनचाँदी र घरसँगै जल्यो साह परिवारको सपना

टुडेपाटी

सप्तरी, मंसिर १९ गते ।

छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवारको सपना पनि घरसँग खरानी भएको छ । 

Sponsored

क्याम्पसको पढाइ शुरु भएपछि छोराछोरीलाई उच्च शिक्षा गराउने ठूलो सपना देखेका बेल्ही चपेनाका आनन्द साहको परिवार बिहीबार भएको आगलागीमा नगदसहित घर जलेपछि चिन्तामा डुबेको छ ।

दिउँसो धान काट्न सपरिवार खेत गएका बेला अचानक भएको आगलागीमा छोराछोरीको उच्च शिक्षाका लागि साहुमहाजनसँग ऋण लिएर जोहो गरेको नगद रु १ लाख ७५ हजार, सुनचाँदीका गरगहना तथा अन्नपातलगायतका सबै सामान जलेर नष्ट भएपछि यतिबेला बिजोगमा परेको स्थानीय ओमप्रकाश मण्डल बताउँछन् ।

क्याम्पस सञ्चालन भएपछि छोरीको क्याम्पस भर्ना र छोराको शुल्क तिर्न साह परिवारले नगद जम्मा गरेको थियो । मण्डलका अनुसार आनन्द साह शुक्रबार लहान गएर क्याम्पसमा छोरीको भर्ना र चितवनमा अध्ययनरत छोराका लागि शुल्क तिर्ने योजनामा थिए । 

Sponsored

अचानक घरमा आगलागी हुँदा घरको सबै सामान जलेर खरानी भएपछि साह ठूलो सङ्कटमा परेको मण्डलले बताए । पीडित साह भन्छन्- “आगलागीमा न त टाउको लुकाउने छानो रह्यो न त एक सुको पैसा नै, अब कसरी छोराछोरीलाई पढाउने भन्ने ठूलो चिन्ता छ ।”

क्याम्पसमा पढाइ शुरु भएका बेला एक्कासि भएको आगलागीले घरबारविहीन बनाइएपछि छोराछोरीलाई क्याम्पसमा कसरी भर्ना गर्ने भन्ने चिन्ता थपिएको छ साहलाई । आगो कसरी लाग्यो भन्ने पत्ता लागेको छैन । घर र गोठमा आगो लागेर खरानी भएको छ ।

आगो लागेपछि स्थानीय र प्रहरीले आगो निभाएर फैलिन नदिए पनि उहाँको घर भने खरानी भएको छ । छोराछोरीलाई उच्च शिक्षा दिलाउने धोको घरसँगै खरानी भएको साहले बताए ।

रासस

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *