कोरोणाको आतंक बढ्दै, सावधानी अपनाउन धनुषा प्रशासनको आग्रह
टुडेपाटी
जनकपुरधाम, फागुन २० गते ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले कोरोणा भाइरसबारे बच्न सावधानी अपनाउन आग्रह गरेका छन् । जिल्लामा हाल सन्त्रासको वातावरण नरहेकपनि पुर्व सावधानी अतिआवश्यक रहेकाले सचेत रहन आग्रह गरेका हुन् । विभिन्न माध्यमहरुबाट कोरोना सम्बन्धी सचेतनाका लागि आफुहरुले काम गरिरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी कणेलले जानकारी दिए ।
कोरोना भाइरस रोकथाम गर्ने उद्देश्यले प्रदेश नम्बर २ को अधिकांश सिमावर्ती क्षेत्रका विभिन्न नाकामा हेल्पडेस्क स्थापना गरिएका छन् । प्रदेश नम्बर २ को धनुषा, महोत्तरी, सर्लाही, पर्सा र सिरहा लगायतका सिमावर्ती क्षेत्रस्थित अधिकांश क्षेत्रमा कोरोना भाइरसको निगरानी एवं चेकजाँचका लागि हेल्प डेक्स स्थापना गरिएको हो ।
कोरोनाभाइरसको लागि हेल्पडेस्क स्थापना गरिएपनि व्यवस्थापन फित्तलो देखिएको छ । प्रदेश नम्बर २ को अधिकांश क्षेत्र भारतसँग जोडिएको छ । जसले गर्दा सहज आवागमन भइरहेको छ । प्रदेश सरकारले अधिकांश स्थानमा कोरोनाभाइरस रोकथामका लागि हेल्पडेस्क स्थापना गरिएपनि दक्ष जनशक्ति परिचालन सबै आवतजावत गर्ने नाकामा समेत छैन् भने थर्मल स्क्यानर र ईन्फ्रा रे थर्मामिटर भने अहिलेसम्म पनि उपलब्ध छैन ।
स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर २ का सूचना अधिकारी विजय झाले कोरोनाभाइरसको रोकथामका लागि हरेक जिल्लामा रहेका स्वास्थ्य चौकी र ११ वटा अस्पतालमा कोरोनाभाइरस चेकजाँचका लागि व्यवस्था गरिएको जानकारी दिए । उनले विदेशबाट आउने मानिसहरुको चेकजाँचका लागि व्यवस्था मिलाइएको बताए । उनले क्वारेन्टाईन कार्यालयमा दुई सातासम्म राखेर उपचार गर्ने व्यवस्था मिलाइएको दावी समेत गरे ।
धनुषाको सिमावर्ती क्षेत्र नगराईन नगरपालिकामा एक ठाउँमा, मुखियापट्टी मुसहरनिया गाउँपालिकाको ३ ठाउँमा, जनकनन्दनी गाउँपालिकाको २ ठाउँमा, महोत्तरीको बिभिन्न ११ ठाउँमा, सर्लाहीको सोनवर्षा, पर्साको रक्सौल लगायतका नाकामा कोरोना भाइरस हेल्प डेस्क सञ्चालनमा ल्याइएको छ ।
Sponsored