धनुषामा टिपरले किचेर मारिएका दिलीपको नाममा प्रतिष्ठान दर्ता
विजयकुमार सिंह-
धनुषा, मंसिर ३ गते ।
पर्यावरण अभियन्ता तथा नदी उत्खननको विरोध गर्दा टिपरले किचेर मारिएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप महतोको नाममा प्रतिष्ठान दर्ता गरिएको छ ।
धनुषाको औरही खोलामा भइरहेको उत्खननको विरोध गर्दा गत पु्ष २५ गते टिपरले किचेर हत्या गरिएका पर्यावरण अभियन्ता दिलीप महतोको नाममा दर्ता भएको ‘ओम प्रकाश महतो दिलीप’ पर्यावरण संरक्षण प्रतिष्ठानको उद्घाटन गरिएको हो ।
बुधवार ढल्केवरमा प्रतिष्ठानका अध्यक्ष संगमकुमारी महतोको अध्यक्षतामा आयोजित एक कार्यक्रमकाबीच मिथिला नगरपालिकाकी उपप्रमुख ताराकुमारी बस्नेतले प्रतिष्ठानको उद्घाटन गरेकी हुन् ।
प्रतिष्ठानको उद्घाटन गर्दै मिथिला नगरपालिकाकी उपमेयर बस्नेतले आँशुलाई शक्तिमा बदलेर दिलीपको न्यायका लागि अघि बढ्न सबैलाई आग्रह गरिन् । उनले दिलीपको न्यायका लागि हरेका पाईलामा स्थानीय सरकारको सहयोग रहने प्रतिबद्धता जनाइन् । पर्यावरण जोगाउनुपर्ने दिलीपको अभियानलाई नगरपालिकाले आत्मसाथ गरेर अघि बढ्नेमा जोड दिइन् ।
Sponsored
पिछ्डावर्ग समाज ओबिसीका केन्दीय अध्यक्ष रामकुमार महतोले दिलीपको नाममा प्रतिष्ठानले आधिकारिकता पाएकोमा सबैमा बधाई तथा आभार प्रकट गरे । यस प्रतिष्ठानको काम कर्तव्य व्यक्ति विशेष मात्र नभई राज्यको साँझा दायित्व भएको उनले बताए । पर्यावरण लागि आफ्नो ज्यानको आहुती दिएका दिलीपलाई पर्यावरण शहीद घोषणा गर्न सबै तहका सरकारले आनाकानी गरिरहेको आरोप लगाए । उनले प्रतिष्ठानको कोषमा व्यक्तिगत रुपमा ५ हजार रुपैयांँ सहयोग गर्ने घोषणा गरे ।
यस्तै युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतोले दिलीप मरेर गएपनि उनको विचार जीवितै रहेको औल्याए । प्रतिष्ठान दिलीपका परिवारका लागि मात्र नभई सम्पूर्ण पर्यावरण अभियानीहरुको साँझा प्रतिष्ठान बन्नेमा उनले विश्वास व्यक्त गरे । दिलीपले चलाएको अभियानलाई सार्थक बनाउनु नै उनकोप्रति सच्चा श्रद्धासुमन हुने उनले उल्लेख गरे । ‘चुरे संरक्षण नभई यो नगरपालिकाको अस्तित्व रहन सक्दैन’, अगाडि पत्रकार महतोले भने, ‘यो कुरा दिलीपले चालेको अभियानबाट पुष्टि हुन्छ ।’
औरही खोलामा अवैध नदी उत्खननको विरोध गर्दा गत वर्ष पुस २५ गते बिहान टिपरले किचेर दिलीपको हत्या गरिएको थियो । दिलीपलाई कोखमा ‘लिभर’ प्रहार गरी घाइते बनाएर टिपरले किचेर हत्या गरिएको थियो । हत्या गरेको आरोपमा तीनजना पुर्पक्षका लागि कारागारमा छन् ।