धनुषाका जोगेन्द्र : जसको तीन पुस्ताले गाई गोठमै जीवन बिताए
रोहित महतो
जनकपुरधाम, मंसिर २ गते ।
बुढ्यौली शरीर । फुलेका कपाल । उमेरले उनी ७० कटिसकेका छन् ।
तर, उनलाई न गर्मीमा आराम छ न वर्षा याममै फुर्सद । गाउँसहर दसैँपछि तिहारको रमझममा रमाईरहँदा समेत टन्टलापुर घाममै बसेर गाई चराउनुपर्ने उनको नियति छ ।
उनलाई न कहिल्यै दसैँ लाग्छ न उत्सव मनाउनै मौका नै जुर्छ । बाल्यकालदेखि नै गाईसँगै उनको दिनचर्या बित्दै आएको छ । उनी हुन् धनुषा मिथिला नगरपालिका- २ राघवपुरका जोगेन्द्र यादव ।
चर्को घाममा छाता ओढेर गाई चराउँदै भेट्टिएका उनी गाईको भविष्य सोच्दै मग्न थिए ।छोराछोरीजस्तै गाईको पालनपोषण र स्याहारमा तल्लीन रह्ने उनी गाईको भविष्यलाई लिएर चिन्तित देखिन्थे । जोगेन्द्रले आफ्नो जिवन नै गाईलाई सुम्पिएको बताए । औरही खोला किनारमा गोठ बनाएर त्यसमै बस्दै गरेका उनले हाल ७० वटा गाई पालेका छन् ।
Sponsored
बिहानै ४ बजे उठ्नसाथ उनी नित्यकर्मपछि गाई तथा बाछाबाछीकै स्याहारमा जुटछन् । दूध दुहुँदै गोठ सररफाई र गोबर सोहर्दै बिहान ९ बज्छ र १० बजे खाना खाइसकेपछि दिनभरी उनी गाई चराउँछन् । गाई पालनमा लागेका उनको तीन पुस्तैको जीवन गोठमै कटेको छ ।
जोगेन्द्रका बाजे बासुदेव यादवले डेढ सय गाई पालेका थिए । गाईभैँसी पालन उनी आफ्नो जातीय पेसाको रूपमा लिन्छन् । ‘गाई नपाल्ने गुवार जातलाई उहिले अर्कै जातमा गणना गरिन्थ्यो । त्यसैले हाम्रो बाजेले गाईभैँसी पाल्न सुरु गुर्नभयो,’ जोगेन्द्रले भने ।
उनका बाजे र बुबाले घरमै गोठ बनाएका थिए । तर, वर्षायाममा समस्या हुन थालेपछि १० वर्षदेखि उनीलगायत आठ जना मिलेर खोला किनारमै गाई गोठ बनाएका छन् । उनका बुबाले पुलकितले समेत डेढ सय गाई पालेका थिए ।
तर, चरण क्षेत्र अभाव, रोगको प्रकोप र कम आम्दानीले दिनहुँ गाईको संख्या कम हुँदै गएको उनले बताए । ‘बुबाको पालमा चराउने ठाउँ थियो । अहिले एलानी र पर्ती जग्गामा पनि उब्जाउन थालिको छ । घर खर्चका लागि केही बेचे र केही रोग लागेर मरे,’ उनले भने, ‘पहिलेजस्तो आम्दानी छैन । बाछो बिक्दैन । घरपरिवार चलाउन मुस्किल परिरहेको छ त्यहीँ भएर विस्तारै गाई कम हुँदै गएको छ ।’
घरपरिवारका सबै सदस्यको जीवनसमेत गाईपालन तथा स्याहारमै बितेको उनले सुनाए । पत्नी, बुहारीसहित घरका १३ जना गाईको स्याहारमा खट्ने गरेको उनले बताए । गाईपालनले जिविकोपार्जन गर्दै आएका उनको घर परिवारमा पढेलेखेका कोही छैनन् ।
‘पहिले धनीमानी मात्र पढ्थे । हामी तीन पुस्तादेखि यहीँ काममा लागेका छौँ । त्यसैले मेरा छोराछोरी पनि पढ्न सकेनन् । तर, अब नातीलाई पढाउन थालेको छु,’ उनले थपे । राजेन्द्रका भाइहरू रखिन्दर र रामपुकार यादवसमेत यहीँ काम गर्छन् । तर, उनीहरू अलगअलग छन् ।
देहाती गाई पालेका जोगेन्द्रले चैत/वैशाखको सिजनमा दिनको २० लिटरसम्म उत्पादन हुने गरेको बताए । तर, बाँकी महिनामा दिनको ५/६ लिटर दूध मात्र दुहेको उनको भनाइ छ । छोरीको बिहेवारी, मृत्यु भोज, औषधि उपचारसँगै गाई पालनबाट उनले केही खेतसमेत जोडेका छन् । पछिल्लो समय गाई पालनबाट घटेको आम्दानी र चरण क्षेत्रअभावसँगै रोगको प्रकोपले भने गाई पालनबाट उनी छुटकारा पाउन खोज्दैछन् ।
‘केही गाईको खुट्टा फुल्न थालेको छ । छाला खस्न लागेको छ । डाक्रले उपचारै छैन भन्छन्,’ उनले थपे, ‘पहिले जस्तुसुकै बाछो २०/२२ हजारमा बेच्थे । तर, अहिले जति राम्रो भए पनि १०/१२ हजार भन्दा बढीमा बिक्दैन । गाई पालेर अब आम्दानी नै छैन ।’ टयाक्टरसँगै बढ्दो प्रविधिले बाछो बिक्री हुन छोडेको उनको भनाइ छ ।
गाईपालनमा थुप्रै चुनौतीका साथै जीवनयापन गर्नसमेत कठिनाइ हुने भएकाले छोराले गाई पाल्न नमानेको जोगेन्द्रले बताए । ‘गाई पालेर गुजारा गर्नु सम्भव छैन ।
छोराछोरीलाई कहाँबाट पढाउँछ ? बिहेवारी कसरी गर्छ ?,’ समस्या सुनाउँदै उनले थपे, ‘जबसम्म ज्यानले थेग्छ गर्छु । यहाँ गाई किन्ने पनि कोही छैन ।’ अन्य गोठालोको समस्यासमेत यस्तै रहेको उनले बताए ।
सरकारले कुनै सहुलियत नदिँदा दिनहुँ गाई पाल्नेको संख्या घट्दै गएको उनको भनाइ छ । ‘सरकारले गाई पाल्ने ठाउँ दिनुपर्याे । गोबरमल सहजै उचित मूल्यमा बिक्री हुने व्यवस्था गरिदिनुपर्याे,’ उनले भने, ‘गहुतको समेत औषधि बन्छ । यसलाई खरिद गरी सदुपयोग गर्नुपर्याे ।’ यसका साथै गाईलाई लाग्ने रोगको उपचारका लागिसमेत सरकारले सघाइदिनुपर्ने उनको माग छ ।