सहिद रामवृक्ष यादवको नाममा बरमझियामा प्राविधिक शिक्षालय स्थापना
टुडेपाटी-
जनकपुरधाम, फागुन १७ गते ।
सहिद रामवृक्ष यादवको नाममा धनुषाको बरमझियामा प्राविधिक शिक्षालय स्थापना भएको छ । सहिद यादवकै जन्मथलो धनुषाको गणेशमान चानाथ नगरपालिका ९ बरमझियाको श्रीमाध्यमिक विद्यालयमा रामवृक्ष यादव स्मृति प्राविधिक शिक्षालय स्थापना गरिएको हो ।
प्राविधिक शिक्षालयको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले उदघाटन गरेका छन् । प्राविधिक शिक्षालयमा अगामी आर्थिक वर्ष २०७७।०७८ देखि कृषि बाली विज्ञानको पढाइ प्रारम्भ हुने विद्यालयका प्रधानाध्यापक राजदेव यादवले जानकारी दिए । प्राविधिक पढाइको लागि संरचना व्यवस्थापनको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल २० लाख रुपैयाँ उपलब्ध गराएको छ ।
सहिद यादवकी छोरी प्रतिनिधिसभा सदस्य बोधमाया यादव, कान्छी छोरी सुनिता यादव र गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मिनादेवी यादवको विशेष पहलमा प्राविधि विद्यालय स्थापना भएको जनाएको छ ।
तत्कालीन नेकपा माओवादीका केन्द्रीय नेता रामवृक्ष यादवको जनयुद्धको पूर्वसन्ध्यामा वि.स. २०५२ भदौ २ गते हत्या भएको थियो । उनको छोरा चन्द्रशेखर यादवको समेत जनयुद्ध कालमै हत्या भएको थियो भने श्रीमती रामकुमारी यादवको ग्यास लिक भइ आगोले जलेर मृत्यु भएको थियो ।
Sponsored