बर्दिवासमा नेपालकै पहिलो मास्क बैंक स्थापना
टुडेपाटी-
जनकपुरधाम, असोज ५ गते ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि महोत्तरीको बर्दिबासमा नेपालकै पहिलो मास्क बैंक स्थापना गरिएको छ । मास्क बैंकको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आइतबार उद्घाटन गरेका हुन् ।
उद्घाटनको अवसरमा संस्थाले २० जना स्वास्थ्यकर्मी तथा पत्रकारलाई सेनिटाइजर, ग्लब्स, एन ९५ मास्क, सर्जिकल मास्क, हेड कभर, फेस सिल्ड तथा सुज कभरलगायत एक एक थान स्वाथ्य सामग्री वितरण गरेको छ भने ५० जना सुरक्षाकर्मीलाई सर्जिकल मास्क समेत वितरण गरेको छ ।
बर्दिबासमा शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको चौतारी नेपालले चौतारी जापानसँगको समन्वयमा आइतबार सो मास्क बैंक स्थापना गरेको बताइएको छ ।
समारोहमा मन्त्री पोखरेलले कोरोना भाइरस महामारीको अवस्थामा स्थापना गरिएको मास्क बैंकले कोरोना भाइरस नियन्त्रणमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।
पछिल्लो समय सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत कोरोनालाई लिएर यो केही हैन भन्ने गलत सूचना तथा धारणा सम्प्रेषण गर्ने क्रम बढेको बताउँदै यस्ता हल्लाको पछाडि कसैलाई नलाग्न उनले सुझाव दिए ।
हाल लकडाउन खुलेको भए पनि कोरोनाको जोखिम कायमै रहेको र संक्रमण झनै फैलन सक्ने भन्दै यस्तो अवस्थामा सबै जनालाई थप सतर्कता अपनाउन मन्त्री पोखरेलले जोड दिए ।
Sponsored