प्रदेश २ : लकडाउनको अवधिमा ५ सय २६ आत्महत्या, अधिकांस घटनाका कारण घरायसी विवाद
नितेश यादव
जनकपुरधाम, असोज ३ गते ।
प्रदेश २ मा ६ महिनाको लामो लकडाउन तथा निषेधाज्ञाको अवधिमा दैनिक करिब तीन जनाले आत्महत्या गरेको पाइएको छ ।
मानसिक तनाव तथा डिप्रेसनका कारण गएको चैत ११ गतेदेखि भदौ मसान्तसमम्म ५ सय २६ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । प्रहरीका अनुसार प्रदेशका आठवटै जिल्लामा आत्महत्या गरेकामध्ये अधिकांस पासो लगाएर झुन्डिएका छन् भने केहीले विष सेवन गरेका छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार चैत ११ देखि भदौ मसान्त सम्ममा ४ सय २१ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । चैतमा ४०, वैशाख र साउनमा ५८÷५८, जेठमा ८७, असारमा १ सय २१ र भदौमा ५७ जनाले झुण्डिएर आत्महत्या गरेको छ ।
यस्तै प्रदेशभरमा विष सेवन गरेर १ सय ११ जनाले आत्महत्या गरेका हुन् । प्रदेश २ का विभिन्न जिल्लामा लकडाउन यता १ सय ११ जनाले आत्महत्या गरका हुन् ।
Sponsored
११ चैत यता १० जना, वैशाखमा १२, जेठमा १३, असारमा ४१, साउनमा ९ जना र भदौमा २६ जनाले विष सेवन गरि आत्महत्या गरेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामको तथ्यांकले देखाउँछ ।
यस्तै दुई जनाले हाम फालेर आत्महत्या गरेको प्रहरी तथयांकले देखाएको छ ।
चैतमा १ जना र वैशाखमा १ जनाले हाम फालेर आत्महत्या गरका थिए । त्यसैगरी, लकडाउन यता प्रदेश २ मा आत्मदाह र औजारबाट आत्महत्या गर्ने एक÷एक जना रहेका छन् । आगो लगाएर असारमा १ जनाले आत्महत्या गरेका थिए भने औजार हातहतियारबाट पनि एकजनाले असारमै आत्महत्या गरका थिए ।
‘अधिकांस आत्महत्याका कारण घरायसी विवाद’
लकडाउन तथा निषेधाज्ञा अवधिमा लामो समय परिवारका सदस्यहरु एकैठाउँ बस्दा यसअवधिमा आत्महत्या वृद्धि भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी उपरीक्षक श्याम प्रसाईंले बताए ।
कोरोना महामारीको कारण विगत लामो समयदेखि जारी लकडाउन तथा निषेधाज्ञाले परिवारका सबै सदस्यहरु एकै पटक घुलमिल भएकोले घरायसी विवादका कारण कतिपयले आत्महत्या गर्ने गरेको एसपी प्रसाईंले बताए ।
उनले भने, ‘आत्महत्याको ठ्याकै कारण भन्न नसकिएला किनभने आत्महत्याको अनेक कारण हुनसक्छ, कुनै समयमा अचानक परेको समस्या सह्न नसेकेर, लामो सययदेखि औषधि प्रयोग गर्दै आएको हुँदा पछि डिप्रेशनमा गएर आत्महत्या गर्ने गरेको हुन्छ ।’
कतिपयले गरिबीको कारण शरीरमा लागेको रोग उपचार गराउन नसकेर अन्तिममा बाध्य भएर आत्महत्या रोज्ने गरेको एसपी प्रसाईंको भनाइ छ । त्यस लगायत अभिभावकले छोराछोरीको चाहना पुरा नगर्दिएर पनि छोराछोरीले आत्महत्या गर्न रुचाउने गरेको वा अनेक सामाजिक कारण हुने गरेको उनी बताउँछन् ।