बाराका वृद्ध सहित थप दुइ जना कोरोना संक्रमितको मृत्यु
टुडेपाटी
काठमाडौँ, भदौ १७ गते ।
नेपालमा थप दुइजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराका एकजना वृद्धको वीरगञ्ज र नवलपरासीका एकजनाको भैरहवामा मृत्यु भएको हो ।
बाराको सम्रौनगढ नगरपालिका–९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्धको मृत्यु भएको हो । मुटु रोगी र दमको समस्या रहेका उनमा उच्च रक्तचापको समेत समस्या थियो ।
उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
‘मुटु रोग, दम र उच्च रक्तचापको समस्या पहिलेदेखि नै रहेछ । उमेर पनि ढल्किसकेको अवस्था थियो । यस्तोमा कोरोना संक्रमण देखियो,’ उनले भने, ‘हामीले सकेको प्रयास गर्यौं तर बचाउन सकिएन ।’
Sponsored
भदौ १२ गते स्वाब संकलन गरेको दुई दिनपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । त्यसलगत्तै भदौ १४ गते अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।
यस्तै भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी पश्चिमकी एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो ।
भदौ १५ गते अस्पतालमा भर्ना भएकी महिलाको मंगलबार राति ९ः४५ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। नारायण पोखरेलले पुष्टि गरे ।
ती महिलामा भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएकाले आइसियूमा राखेर उपचार भइरहेको थियो ।
अस्पतालका कोभिड–१९ फोकल पर्सन डा। सुमित प्रजापतिका अनुसार ५ वटा आइसियू बेड रहेको भीम अस्पतालमा ४ जना आइसियुमा उपचाररत छन् । अन्य १७ जना आइसोलेसन बेडमा छन् ।
भीम अस्पतालमा यसअघि गैडहवा गाउँपालिका–३ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।