कोरोना संक्रमणका कारण रुपन्देहीका एकजनाको मृत्यु
टुडेपाटी-
बुटवल, भदौ ४ गते ।
कोरोना संक्रमणका कारण रुपन्देहीका एकजनाको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिकामा ९ भलुहीमा रहेको देवदह मेडिकल कलेजमा कोरोना पोजिटिभ एक बिरामीको मृत्यु भएको हो ।
मृतकको लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
देवदह नगरपालिका–३, शिसपुर निवासी ७० वर्षीय कोरोना संक्रमित बिरामीको मृत्यु भएको देवदह नगर स्वास्थ्य शाखाले जनाएको छ ।
कोरोनाका कारण मृत्यु भएका पुरुष विगत लामो समयदेखि पक्षघाट, सुगर, प्रेसरको विरामी रहेको देवदह नगरपालिका–३, का वडाअध्यक्ष वैकुण्ठबहादुर कुँवरले जानकारी दिए ।
केही दिनअगाडि भैरहवा मेडिकल कलेजमा उपचारका लागि लगिएको र अस्पतालले घरमा फिर्ता पठाएको र पुनः देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।
कोरोना पोजिटिभ भेटिएका पुरुषको नेपाली सेनाले दाह संस्कारको तयारी गरिरहेको देवदह नगर स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले बताए । कोरोना पोजिटिभका कारण पुरुषको मृत्यु भएपछि देवदह–३, शिसपुरलाई सिल गरिएको छ ।
Sponsored