प्रदेश २ : जाली नोट कारोबारी अन्सारी पक्राउ, भारत र पाकिस्तानको डबल एजेन्ट रहेको खुलासा
टुडेपाटी-
बीरगञ्ज, साउन २९ गते ।
१५ किलो सुनचाँदी प्रकरणमा मुछिएका जाली नोट कारोबारी इल्तफ हुसेन अन्सारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई पक्राउ गरेको हो ।
सुनचाँदी प्रकरणमा प्रयोग भएको गाडी अन्सारीको रहेको पुष्टि भएपछि उनको तिब्र खोजी गरिएको थियो ।
काठमाडौंको कमलपोखरीबाट अन्सारीको गाडीलाई प्रहरीले पछ्याएपछि सुन चाँदी भएको झोला फ्याँकेर स्कर्पियो भागेको थियो । त्यसयता महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुले उनको खोजीलाई तीब्र बनाएको थियो ।
उनी २८ असार २०६८ सालमा बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँको मुख्य कारोबारी थिए ।
घटनापछि फरार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०७२ जेठमा पक्राउ गरेको थियो । पछिल्लो पटक ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित समातिएका युनुस अन्सारीसँग पनि उनको निकट सम्बन्ध छ ।
युनुसपछि नेपालमा नक्कली भारतीय नोट कारोबार गर्ने व्यक्ति उनी थिए । प्रारम्भमा युनुसकै समूहमा भएपछि पछिल्लो पटक उनले आफ्नै समूह सञ्चालन गरिरहेका थिए ।
Sponsored
अन्सारी पाकिस्तान र भारत दुवै मुलुकका लागि सूचना दिने व्यक्ति पनि हुन् । उनलाई प्रहरी अधिकृतहरु डबल एजेन्टका रुपमा चिन्छन् ।
बाराको प्रस्टोखा–२, हरपुरका अन्सारी प्रायः वीरगञ्जमा बस्ने गर्छन् । उनी आफूलाई पेम्ट्रोल पम्प सञ्चालकका रुपमा चिनाउँछन् ।