सप्तरीमा पर्खाल भत्किँदा बालकको मृत्यु
शुभ नारायण यादव-
सप्तरी, असार १८ गते ।
सप्तरीमा ढलान गर्ने क्रममा चलाएको लोडर मेसिनको कम्पनले पर्खाल भत्किँदा अाज एक बालकको मृत्यु भएको छ ।
खडग नगरपालिका १ सिस्वामा नगरस्तरीय बजेटबाट आरसीसी ढलान गर्ने क्रममा बिहीबार बा २ क ९८६३ नम्बरको लोडर चलाइएको थियो । लोडरको कम्पनले स्थानीय नखेलाल मण्डलको माटोले जोडिएको इँटाको पर्खाल भत्किँदा उनका ८ बर्षीय छोरा उमेशकुमार साह पुरिएकाे थियाे ।
पूर्वमा फुलो मियाँको घरदेखि पश्चिम लक्ष्मण साहको घरसम्म आरसिसी ढलान गर्नका लागि नगरपालिकाले ३५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।
यसका निम्ति छबिल मण्डलको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो । असारको अन्तिम समयमा नगरपालिकाकै लोडर र स्काभेटर लिएर हतारहतार काम गर्न खोज्दा बालकको मृत्युु भएको भन्दै स्थानीय आक्रोशित छन् ।
अति कम्पन दिने लोडर वस्तीमै चलाउनुपर्दा सर्वसाधारणलाई सूचना दिनुपर्नेमा कुनै सूचना नदिई चलाएको स्थानियहरुले बताएका छन् । यता साे घटनाकाे बारेमा अावश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Sponsored