TodayPati

धनुषाकै बडहडी खोलामा झण्डै भएन दिलीप जस्तै अर्को हत्याकाण्ड, आक्रमणबाट एक युवक गम्भीर

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, जेठ २१ गते ।

धनुषा बटेश्वर स्थित बडहडी खोलामा दिलीप महतो जस्तै अर्को ठूलो हत्याकाण्ड हुनबाट जोगिएको छ । मंगलबार राति बटेश्वर गाउँपालिका १ स्थित बडहडी खोलामा अवैध उत्खनन् रोक्न ४ जना युवक झण्डै नरसंहार हुनबाट बाँच्न सफल भएका छन् । तर क्रसर माफियाको आक्रमणबाट एक युवक भने गम्भीर घाइते भएका छन् ।

बटेश्वर गाउँपालिका १ डालाखारीका २२ वर्षका संजयकुमार महतो घाइते भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।
उत्खनन गर्ने पक्षको रडप्रहारबाट संजयको टाउको, कान र तिघ्रामा गम्भीर चोट लागेको उनका भाई सत्रोहन महतोले बताए । संजयको उपचार जनकपुर स्थित जानकी हेल्थकेयर उपचार भइरहेको छ ।

Sponsored

घाइतेका भाई सत्रोहनका अनुसार खोला खन्नेहरु पेस्तोल, खुकुरी र रड बोकेर आएका थिए । ‘हामी तीनचारजना मात्रै थियौं । उनीहरु ६।७ जना थियो । हामी जाने बितिकै उनीहरु मार सालेहरुलाई भन्दै जथाभावी रड प्रहार गर्न थाल्यो । पहिले ममाथि नै रड प्रहार गर्यो । दाई संजय अगाडी बढ्नु भयो । उहाँमाथि झनै बढी प्रहार भयो । केहि साथी ज्यान बचाउँदै भागे । उनीहरु खुकुरीले पनि आक्रमण गर्न खोजेका थियो । तर गाउँले आउँदै छ भन्ने चाल पाएपछि सबै भागे ।’ भाई सत्रोहनले भने ‘दाई माथि बढी रड प्रहार भएकाले उहाँ गम्भीर घाइते हुनुभयो । हामीलाई पनि तीनचार रड प्रहार भएको छ । गाउँले आउँदै छ भन्ने थाहा नभएको भए उनीहरु हाम्रो हत्या गरिदिन्थ्यो ।’

घटना पश्चात डलाखारीका दुईसयबढी गाउँले क्रसर माफियालाई खोज्न खोलामा पुगेका थिए । घटना पश्चात इलाका प्रहरी कार्यालय सखुवा महेन्द्र नगर त्यहाँ पुगेको थियो । राति उनीहरु फरार भइसकेकाले आक्रमण गर्ने मनोज महतो लगायतको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय सखुव महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले बताए ।

गउँलाई संकटमा पार्ने गरी निरन्तर भइरहेको बडहडी खोलाको अवैध उत्खननको गाउँलेहरु सोमबारदेखि विरोधमा उत्रेका छन् । गाउँलेले सोमबार र मंगलबार समेत खोलामा गई उत्खनन रोकाएका थिए । उत्खनन रोक्न माग गर्दै मंगलबार विजयपुरका दुईसयभन्दा बढी गाउँले बटेश्वर गाउँपालिका कार्यालय समेत घेराउ गरेका थिए । त्यहाँ गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत नआएपछि वडा नं. १ का वडाध्यक्ष शैलेन्द्र महतोले छलफल नहुञ्जेल खोला उत्खनन नहुने प्रतिवद्धता गरेपछि गाउँले घर फर्किएका थिए । तर राति फेरी खोला खन्न पुगेपछि यस्तो घटना भएको हो ।

Sponsored

बटेश्वर गाउँपालिका १ चित्रपुरका केहि युवाहरुको जमात ड्रग्स सेवन गर्ने तथा अवैध खोला खन्ने कार्यमा संलग्न छन् । अवैध खोला उत्खनन्मा बढी कमाइ भइरहेको भन्दै उनीहरुले केहिलाई मारेर र किचेर भएपनि खोला खन्ने गाउँलेलाई धम्की दिँदै आएका छन् ।

स्थानीय प्रहरी प्रशासन र गाउँपालिकाका जनप्रतिनिधलाई कमिसन दिँदै गरेकाले उनीहरु केहि गर्न नसक्ने भन्दै गाउँलेलाई तह लगाएर भएपनि खोला खन्ने धम्की दिने गरेको डालाखारीका स्थानीयहरुले बताएका छन् ।

गाउँपालिकाले स्थानीय सत्रोहन महतोलाई १५ लाख रुपैयाँमा गाउँपालिका अन्तर्गत पर्ने खोलाको साढे ६ फिट सतहसम्म खन्ने गरी ठेक्का दिएको छ । तर ठेकेदारले १५ फिटसम्म गहिरो खनेर गाउँलाई नै धरापमा पर्दा समेत गाउँपालिका र प्रहरी प्रशासन मुकदर्शक भएका छन् ।
गाउँपालिका प्रमुख डम्बर बहादुर राउतले अवैध उत्खनन रोक्न आफुले सम्पूर्ण प्रयासहरु गरिसकेको बताए । तर गाउँलेहरु खोला उत्खनन रोक्ने नाउँमा उच्संखल गतिविधि गरिरहेको समेत गाउँपालिका प्रमुख राउतले आरोप लगाए ।

गएको पुस २५ गते धनुषाकै मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरका दिलीप महतो यसरी नै घर नजिकै औरही खोलामा भइरहेको अवैध उत्खनन रोकाउन जाँदा क्रसर माफियाले रड प्रहार गरी टिपरले किचेर हत्या गरेका थिए ।

सम्बन्धित समाचार

बटेश्वरमा हतियार देखाएर अवैध खोला उत्खनन्, गाउँले उत्रे प्रतिकारमा (भिडियो )

बटेश्वर स्थित बडहडी खोलामा अवैध उत्खनन् आतंक, कमिसन खाँदै स्थानीय सरकार र प्रहरी मस्त

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “धनुषाकै बडहडी खोलामा झण्डै भएन दिलीप जस्तै अर्को हत्याकाण्ड, आक्रमणबाट एक युवक गम्भीर

  • June 3, 2020 at 9:23 am
    Permalink

    नेपाल गुन्डा राज्य नभएकाले गुन्डागर्दी को साहारा लिइ कानुन लाइ मिचेर मानव र वातावरण लाइ बिनास गर्ने कुसामाजिक तत्वहरू र त्यस्ता अपराधी हरुलाई सजाय को साटो साथ दिने प्रहरी प्रमुख हरु बिरुद्ध हामि सबै एक हुनु पर्छ है ।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *