बटेश्वरमा हतियार देखाएर अवैध खोला उत्खनन्, गाउँले उत्रे प्रतिकारमा (भिडियो )
टुडेपाटी-
जनकपुरधाम, जेठ २० गते ।
गाउँलाई नै जोखिममा पारेर धनुषाको बटेश्वर गाउँपालिका—१ स्थित बडहरी खोलामा अवैध उत्खनन् भएपछि स्थानीयहरु गाउँपालिको कार्यालय घेराउ गरेका छन् ।
गाउँपालिका अध्यक्ष र प्रहरीप्रशासनलाई मोटो रकम कमिसन खुवाएर मापदण्ड विपरीत करिब १५ सम्म गहिरो खोला त्खनन गरेको भन्दै स्थानीयहरु मंगलवार गाउँपालिकाको कार्यालय घेराउ गर्दै नाराबाजी गरेका हुन् ।
स्थानीय विजयपुरका गाउँलेहरु गाउँपालिका घेराउ गर्नु अघि अवैध खोला उत्खनन रोक्न खोलामा पुगेका थिए । त्यस क्रममा एउटा स्काइभेटर ल्याएर ठेकेदारले जवरजस्ती खन्ने क्रममा तनाव उत्पन्न भएको थियो । सो क्रममा स्थानीयले ढुंगामुढा गरेर स्काइभेटर तोडफोड समेत गरेको छन् । यसअघि सोमबार पनि गाउँलेहरु खोलामा गएर उत्खनन् रोकाएका थिए । तर उनीहरु फर्किने बितिकै फेरी उत्खनन सुरु भएको थियो ।
महिनौदेखि चित्रपुर र विजयपुरका खेतीयोग्य जग्गा मात्र नभइ बाढीले वस्ती नै डुबानमा पर्नेगरी जथाभावी उत्खनन गर्दा गाउँपालिका, जिल्ला प्रशासन, जिल्ला समन्वय समिती र प्रहरीले संरक्षण दिएको स्थानीयहरुको आरोप छ ।
जथाभावी खोला उत्खनन भइरहेको विषयमा सम्बन्धित निकायलाई बारम्बार जानकारी गराउँदा समेत कमिसनमा सबै पक्ष मुकदर्शक बनेको स्थानीय उमेशकुमार महतोको गुनासो छ ।
‘ठेकेदारहरु हात हतियारसहित बाहिरबाट केटाहरु मगाएर जथाभावी खेला खनिरहेका छन् । मेयर, सिडियो, प्रहरी सबै मिलेकै छ भन्छन् । धेरै बोल्नेलाई मारेरै भएपनि खन्छु भनेर धम्क्याउँदै हिडेका छन्, स्थानीहरुले भने भने, ‘प्रहरी प्रशासन आउनुअघि खबर गरेरै आइरहेको भनेर केटाहरुले भनिरहेका छन् । हामीले बोलाउँदा कोही आउँदैनन् । के मान्छे मारिसकेपछि मात्र उनीहरु आउने हो ?’
लकडाउनको अवधिमा ठेकेदारले उत्खनन गर्न नपाएको भन्दै वर्षायाममा समेत गाउँपालिकाले पैसा खाएर उत्खनन गर्न लगाएको स्थानीय जनकलाल महतोको भनाई छ ।
Sponsored
‘एक त स्थानीयलाई नसोधी मनमर्जी ठेक्का लगाउने । अनि लकडाको बहानामा पैसा खाएर ठेक्काको म्याद बढाउने ?,’ उनले भने । गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले मात्र नभइ वडाध्यक्ष शैलेन्द्र महतोले समेत कमिसन खाएकै कारण जथाभावी उत्खनन गरेको स्थानीयहरुको दावी छ ।
‘अवैध खोला उत्खननले चित्रपुर, विजयपुर लगायतका गाउँ नै बडहडीको बाढीले बगाउँछ । गाउँपालिकाले १५ लाख रुपैयाँ राजश्वको कारण अर्बौको धनजनको सम्पति बर्बाद पार्ने गरी उत्खखनन् गराइरहेका छन् ।’ स्थानीय अशोक महतोले भने ।
स्थानीय रघुवीर महतोले गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरु गाउँलाई विकास गर्नेभन्दा बर्बाद गर्ने चोरडाका भएको भन्दै आक्रोश पोखे ।
स्थानीय यसरी उत्रे विरोधमा, जनप्रतिनिधि र प्रहरीमाथि गम्भीर आरोप
यता खोलाको ठेक्का लिने बटेश्वर गाउँपालिका १ स्थानीय बासिन्दा रहेका ठेकेदार सत्रुधन महतोले अवैध रुपमा खोला उत्खनन गरेको स्वीकार गरे । ‘मैले मापदण्ड अनुसार नै साढे ६ फिट तलसम्म खन्न केटाहरुलाई भनेको छु । तर अलि तलमाथि खनि हाल्छन् । अब यसमा सुधार गर्छु ‘ उनले भने ।
यता इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले खोलामा अवैध उत्खनन हुँदा जानकारी आउने बितिकै पुग्ने गरको दावी गरे । ‘खोलामा स्काइभेटर र जेसीभी नै नजान दिनुपर्ने हो । तर पनि ठेक्का लगाएको छ । गएको बेला रोकाउँछौ । आएपछि फेरी खन्न सुरु गरदिन्छन् ।’ निरीक्षक नायकले भने ‘ खोलामा भएको विवादको विषमया भोली छलफल हुन्छ ।’
यता गाउँपालिका अध्यक्षले आफुले अवैध उत्खननको विषयमा हिजो मात्रै जानकारी पाएको र तत्काल २।४ दिनको लागि बन्द गर्न ठेकेदारलाई निर्देशन दिएको बताए । आफु भारत लगायतको ठाउँबाट आउने यस गाउँपालिकाका जनतालाई बोर्डबाट ल्याउने र तिनीहरुलाई राख्ने ठाउँको व्यवस्थापनको लागि क्वारेन्टाइन निर्माण गरिरहेकाले समयमा खोला खन्ने ठाउँमा नपुग्न सकेको प्रतिक्रिया दिए ।
‘म कोरोना रोकथाम नियन्त्रणको विभिन्न कामहरुमा व्यस्त छु । उत्ता खोला खनिरहेको भनेर फोन आयो । यता जाउँकी उता जाउ ? राति सुत्न पाएको छैन’, उनले भने ‘ममाथि कमिसन खाएर खोला खनाइरहेको आरोपहरु लाग्ने गरेको छ । म कमिसन खाएको प्रमाणित भए तुरन्त पदबाट राजिनामा दिन्छु ।’