बटेश्वर स्थित बडहडी खोलामा अवैध उत्खनन् आतंक, कमिसन खाँदै स्थानीय सरकार र प्रहरी मस्त
टुडेपाटी-
जनकपुरधाम, जेठ १९ गते ।
धनुषाको बटेश्वर गाउँपालिकाको अन्तर्गत पर्ने बडहडीख ोलामा गाउँलाई नै जोखिममा राखेर निरन्तर अवैद्य उत्खनन भइरहेको छ । स्थानीय सरकार र प्रहरी प्रशासनको मिलेमतोमा क्रसरमाफियाहरुले बडहडी खोलामा १५ फिट गहिरोसम्म गिट्टी बालुवमा उत्खनन गर्दै आतंक मच्चाएका छन् ।
वडा नं. १ को चित्रपुर र विजयपुर गाउँलाई बाढीबाट बचाउन बाँधिएको बाँधलाई भत्किने गरी दर्जनौ टिपर,एस्काइभेटर र लोडरको प्रयोग गर्दै उत्खनन भइरहेको छ । बडहडी खोलाको बाढीबाट दुबै गाउँलाई उच्च जोखिममा पार्ने गरी उत्खनन् गरिरहँदा स्थानीय सरकारका जनप्रतिनिध र प्रहरी प्रशासन भने मोटो कमिसन खाँदै रमाइरहेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।
जनप्रतिनिधि कमिसन खाँदै मुकदर्शक भएर गाउँलाई जोखिम हुने गरी उत्खनन गराएको भन्दै विजय पुरका चारदर्जनभन्दा बढी स्थानीयहरु सोमबार खोलामा पुगेर उत्खनन रोक्न माग गरेका छन् । स्थानीय सरकारका जनप्रतिनिधि र प्रहरी प्रशासनले कमिसन खाँदै अवैध ढंगले खोला खनाइरहेको स्थानीय युवा जनकलाल महतोको आरोप छ । ‘गाउँपालिकाले ठेक्का लगाएको छ भने अवैद्य ढंगबाट हुँदा पनि किन गाउँपालिका अध्यक्ष लगायतले अनुगमन र रोक्ने काम गर्दैनन् । प्रहरी आउँछन् हिँड्छन् । कसैले केहि गर्दैनन् । यसले प्रष्ट हुन्छ । सबै कमिसन खाएर अवैध खोला दोहन गर्नेहरुलाई प्रश्रय दिइरहेका छन्’ स्थानीय देवनाथ महतोले भने ।
गाउँपालिकाले आफ्नो क्षेत्र अन्तर्गत पर्ने बडहडी खोला, बेलाचापी खोला र बिगही खोला १५ लाखमा ठेक्का लगाएका छन् । जसमा खोलाको उचित ठाउँमा चारफिट गहिरोसम्मको ग्राइभेल,ढुंगा माटो झिक्न पाउने मापदण्ड छ । तर खोलामा ठेकेदारले १५।२० फिटसम्म गहिरो गरी जथाभावी ग्राइभेल झिक्दा समेत स्थानीय सरकारले अनुगमन गरेको छैन ।
श्रोतका अनुसार ग्राइभेल खन्ने ठेकेदारले गाउँपालिका अध्यक्ष, सम्बन्धित वडाध्यक्ष, इलाका प्रहरी कार्यालय ढल्केबर र ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्र अन्तर्गतका प्रहरीलाई हप्ता र महिना अनुसार कमिसन दिने गरेका छन् । सोहि कारण गाउँलाई जोखिममा पार्ने गरी उत्खनन भइरहँदा मुकदर्शक बनेका छन् ।
Sponsored