गौरमा बानेश्वरनाथ मन्दिर उत्खननः सातसय वर्ष पुराना अवशेष फेला
टुडेपाटी-
जनकपुरधाम, पुस २२ गते ।
रौतहटको गौर नगरपालिका–२ स्थित पौराणिक बानेश्वरनाथ मन्दिरको उत्खननका क्रममा सातसय वर्ष पुराना इँटाका अवशेष फेला परेका छन् । गौर नगरपालिकाको पहलमा पुरातत्व विभागको टोलीले १२ दिनदेखि उत्खनन गर्दा
औंलाको छाप भएका दुर्लभ इँटाहरू फेला परेका छन् ।
पुरातत्वविद् देवेन्द्रनाथ तिवारीका अनुसार उत्खननका क्रममा कहिल्यै फेला नपरेका औंलाका छाप भएका इँटाहरु भेटिरहेका छन् । “मैले धेरै ठाउँमा उत्खनन गरेको छु, तर औंलाको छाप भएका इँटा पहिलोपटक यहाँ भेटिएका छन्। यस्ता इँटाहरू कुल अवशेषको करिब १५–२० प्रतिशतमा भेटिन्छन् ।” उनले भने ।
उत्खननका क्रममा बुद्धकालीन इँटा, बुट्टा काटिएका इँटा, माटोका भाँडाका टुक्रा, बच्चाहरूले खेल्ने घोडाको अवशेष पनि फेला परेका छन्। यी अवशेषहरू बाराको सिम्रौनगढ दरबार नजिक भेटिएका इँटासँग मिल्दोजुल्दो भएकाले तिनलाई सातसय वर्ष पुरानो मानिएको तिवारीले जानकारी दिए।
चार ठाउँमा उत्खनन भइरहेको मन्दिर क्षेत्रबाट भेटिएका अवशेषले यो स्थान प्राचीनकालमा समृद्ध पर्यटकीय स्थल भएको संकेत गर्छ। तिवारीले भने, “सातसय वर्षअघिको यो क्षेत्र प्राचीन धार्मिक र पर्यटकीय महत्त्वको रहेको प्रमाण भेटिएको छ।”
गौर नगरपालिकाका मेयर शम्भु साहले यस मन्दिरबारे २०७४ सालमा जानकारी पाएको बताए । मेयरमा जितेपछि उत्खनन कार्य अघि बढाएको बताए । “२०७९ मा निर्वाचित भएपछि पुरातत्व विभागसँग सहकार्य गरेर यस स्थललाई उत्खनन गराउने योजना बनाएको थिएँ,” उनले भने।
Sponsored
साहले यस मन्दिरलाई पर्यटकीय स्थलको रूपमा विकास गर्दै संरचनाको संरक्षणमा ध्यान दिने बताए। शिवलिंगको टुप्पोमा रहेको कछुवाको छाप अन्यत्र कतै नदेखिएको उल्लेख गर्दै उनले मन्दिरको ऐतिहासिक महत्त्वलाई उजागर गर्न स्थानीयले चासो देखाएको जानकारी गराए ।
पुरातत्वविद् तिवारीको नेतृत्वमा रहेको तीन सदस्यीय टोलीले अझै आठ दिन उत्खनन गर्ने योजना बनाएको छ। टोलीले १५ दिनभित्र विस्तृत प्रतिवेदन नगरपालिकालाई बुझाउनेछ।