TodayPati

जथाभावी बडहडी खोला उत्खननले बाढीको जोखिममा निरशपुर

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, कार्तिक ५ गते ।

बडहडी खोलामा ठूलो बाढी आउँदा धनुषाको बटेश्वर गाउँपालिका–१ निरशपुर उत्तरबारी टोलका ६५ वर्षीय राजकुमार राउत झस्किन्छन् । यसको कारण हो, दशक अघि बडहडीले दिएको दुःख । मध्य राति सुतिरहेको बेला बडहडी खोलाको बाढी घरमै पस्यो । सुतिरहेका राजकुमारको परिवारको होस् उड्यो । चिच्याउँदै घर छाडेर भागे । बाढीले उनको घर नै खस्यो । अन्नपात सबै बाढीले लग्यो । विपन्न परिवारका उनलाई त्यस बेला घरबनाउन कमता सकस भएन ।

‘राति घरमा सुतिरहेको बेला बाढी पस्यो । फुसको घरथियो । अचानक बाढी पस्दा धेरै डराएँ । सबैजना घर छाडेर बाहिर निस्क्यौं । गाउँमा बाढी बग्न थाल्यो । मेरो घर खस्यो । अन्न, लत्ता कपडा सब नष्ट भयो’, राजकुमार अतित सम्झन्छन् ।

Sponsored

उनका अनुसार त्यस बेला खोला पूर्वी छेउबाट बाँध बाँधियो । तर केही वर्षदेखि बाँध नजिक पटक पटक अवैध खोला दोहन हुँदा बाढीको जोखिम बढेको छ । त्यस कारणपछिल्लो सयय घरभन्दा करिब ८ सयमिटर पश्चिम बग्ने बडरी खोलामा ठूलो बाढी सुसेलदा बिगत दोहरिने सोँचेर डराउने गरेको राजकुमार बताउँछन् ।


‘त्यस बेला बाँध बाँधिएपछि वस्ती सुरक्षित भयो । तर पछिल्लो समय बाँध छेउमा जथाभावी खोला उत्खनन गर्ने क्रम बढेको छ । यसले बाँध भत्काएर बाढी पुनः वस्ती छिर्ने जोखिम बढिरहेको छ । त्यकारण अब ठूलो बाढी आउँदा डर लाग्छ । गाउँले पनि डराउने गरेका छन्’ उनले भने ।

वस्तीकै ७५ वर्षीय अर्थमान तामांग त्यति बेला आएको बाढी सम्झन्छन् । उनको पारी पट्टीको चारकठा खेत बाढीले लग्यो । बाँध दिँदा वस्ती सुरक्षित भयो । अब पहिले जस्तो बाढीको जोखिम नभएपनि जथाभावी उत्खननले क्षति निम्तिन सक्ने उनको भनाइ छ ।

Sponsored

‘त्यस बेला मेरो पारीपट्टीको चारकठ्ठा खेत लग्यो । गाउँमा बाढी चलेको थियो । मानवीय क्षति त भएन । अहिले हुने जथाभावी उत्खननले बाँध भत्किएर फेरि बाढी पस्ने हो कि चिन्ता चाँही छ’ उनले भने ।


राजकुमार र अर्थमानको घरभन्दा करिब ३ सयमिटर तलको निरशपुर टोल त झनै बढी बाढीको जोखिममा छन् । किन भने यहाँ खोला वस्तीको निकटता झन् बढी छ । वस्ती भन्दा खोलाको निकटता अढाइसय मिटर मात्र रहेको स्थानीय जनकलाल महतो बताउँछन् ।

जथाभावी उत्खननले बाँध कटान गरेर पूर्वतिर कटान गर्दै वग्न थालेको छ । वस्तीलाई ठूलो जोखिम रहेको छ । समयै उत्खनन नरोकिए कुनै दिन गाउँ नै बगाउने खतरा रहेको उनले बताए ।
‘यो वस्ती नजिक त खोलामा बाँध पनि छैन । पश्चिम तर्फ भएर बग्ने खोला अब पूर्व तर्फ बग्न थालेको छ । यो जथाभावी उत्खननको कारण हो । जमिन काटान गर्दै खोला वस्तीको दुरी नजिकिँदै छ । यदि समयमा उत्खनन रोकेर तटबन्ध गरेन भने कुनदिन गाउँलाई बाढीले बगाउने खतरा छ’ उनले भने ।

जनकलाल जस्तै उनका छिमेक रामविलास महतोलाई बडहडी खोलाले चिन्ता र त्रास बढ्दै गएको छ । गत दुई वर्षमा बडहडी खोलाले उनको जीवनजिविका चल्ने उर्वर खेत कटान गर्दै लगेको छ । पाँच कठ्ठा मध्ये उनको अढाई कठा खेत बडहडीले कटान गरेर बगरमा परिणत भइसकेको छ । अवैध उत्खननले बाढी सिधा जमिन तिर तेर्सिँदा काटान हुन थालेको उनको दुखेसो छ ।

‘पाँच कठ्ठा मेरो उब्जाउ जग्गा थियो । गत दुई वर्षमा अढाई कठठा बडहडी खोलाको बाढीले लगि सक्यो । त्यसमा राम्रो उब्जाउ हुन्थ्यो’ निराश रामबिलास सुनाउँछन् ‘यो अवस्था जथभावी खोला उत्खननले आएको हो । पहिले पश्चिम छेउ भएर बग्ने बाढी अब पूर्वी छेउ भएर बग्न थालेको छ’

उनका अनुसार वर्षेनी पूर्व तर्फको उर्वर जमिन कटान गर्दै खोला वस्तीतिर नजिकिँदै छ । पछिल्ला दुई वर्षमा रामविलास जस्तै अन्य किसानको अढाई विगहा जग्गा बडहडी खोलाले कटान गरेर बगर बनाइसकेको छ । बाढी आउँदा काट्ने क्रम रोकिएको छैन ।

यसले गाउँलेमा भयत्रास बढ्दै छ । समयमै तटबन्ध नगरे उब्जाउ जग्गा कटान गर्दै गाउँलाई नै बाढीले खतरा रहेको रामविलासका छोरा रञ्जितको पनि भनाइ छ ।
‘खेत र गाउँ बड्हडी खोलाबाट जोगाउन तत्काल उत्खनन बन्द हुपर्ने हो । बहडी खोालको सबभन्दा बढी जोखिममा हाम्रो वस्ती छ । यहाँ भन्दा तलको विजयपुर गाउँ गहिरो भूभागमा छ । यदि यहाँ बाढी आयो भने तलको गाउँ पनि बाँकी रहँदैन’ उनी भन्छन् ।

विजयपुरका लक्ष्मण महतो पनि गाउँ बाढीको जोखिममा रहेको बताउँदै सबै गम्भीर भएर खेतवारी र वस्ती जोगाउन लाग्नु पर्ने जोड गर्छन् । ‘वर्षेनी बाढीले उब्जाउ जग्गा कटान गर्दै छ । किसानको गाँस खोजिँदै छ । वस्ती त जोखिममा छन् नै । सबै गम्भीर भएर यो समस्या समाधान तर्फ लाग्नु आवश्यक छ । समयमै तटबन्ध गरेर सुरक्षित गरिएन भने भोलि बडहडी खोलाले परिणाम घातक हुन सक्छ’ उनले सचेत गराउँदै भने ।

वडा नम्बर १ का वडाध्यक्ष अशोक महतोका अनुसार साविक लक्ष्मीनिबास गाविसको वडा नम्बर ६,७ र ८ बडहडी खोलाको बाढीको उच्च जोखिममा छ । स्थानीय, प्रदेश र संघ सरकारमा डिपीआर बनाएर तटबन्धको लागि प्रयास गरेको उनको भनाइ छ । ‘खेतवारी र गाउँ सुरक्षित गर्न डिपीआर बनाएर प्रदेश र संघ सरकारबाट बजेट ल्याउने प्रयास गरे । तर बजेट परेन’ उनले भने ‘मैले धेरै प्रयास गरेपछि गाउँपालिका कार्यालयले यसपटक तटबन्धको लागि मात्र १० लाख रुपैयाँ राखेको छ । त्यो १० लाखले के हुन्छ ?’

जवकी बटेश्वर गाउँपालिका कार्यालयले दुईपटक निरशपुर नजिक बडहडी खोल्ला ठेक्का लगाएर जथाभावी उत्खनन गराउँदै लाखौं राजश्व संकलन गरेको छ । यसको अनुचित लाभ गाउँपालिकाका वर्तमान पालिका अध्यक्ष रामअशिष महतो र अघिल्लो कार्यकालका पालिका अध्यक्ष डम्बर बहादुर राउतसहितका जनप्रतिनिधि र कर्मचारीले लिएको स्थानीयको आक्रोश छ । आफ्नो निहीत स्वार्थका लागि वस्तीलाई जोखिममा पार्ने गरी ठेक्का लगाएर ठेकेदारसँग मिलेमतो गरी सम्झौता भन्दा बढी कयौं गुणा बढी जथाभावी उत्खनन गराएको स्थानीयको आरोप छ ।


तर सम्झौत विपरीत खन्नेलाई नत कारबाही दायरामा ल्याएको, नत बढी खनेको राजश्व दाखिला गराएको र नत गाउँ सुरक्षित गर्न तटबन्धको व्यवस्था गरेकोमा स्थानीय आक्रोशित छन् । पालिकाको यस कार्यबाट वर्तमान वडाध्यक्ष महतो पनि असन्तुष्ट छन् ।

‘दुईदुईपटक पालिकाले बडहडी खोला ठेक्का लगायो । समयमा नियमन नियन्त्रण गरेन । वस्तीलाई जोखिममा पार्यो । वस्तीलाई बाढीको जोखिमबाट बचाउन तटबन्धको लागि कहिल्यै सोँचेन’ उनले भने ‘यसपटक धेरै प्रयास गरेपछि मात्र १० लाख विनियोजन गरेको छ । अब त कुनैपनि हालतमा ठेक्का लगाउन दिन्न ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *