TodayPati

आशाले एक वर्षपछि बल्ल पाइन् नागरिकता प्रतिलिपी

टुडेपाटी-
जनकपुरधाम, भदौ १९ गते

धनुषाको टेश्वर गाउँपालिका–१ की ५१ वर्षीया आशादेवी मण्डलले एक वर्षको प्रतिक्षापछि जिल्ला प्रशासन कार्यालय, धनुषाबाट नागरिकता प्रतिलिपी पाएकी छन्। उनले पुनः वडा सिफारिस र अनुसूचीसहितको कागजात बुधबार पेश गरेको केही समयमै नागरिकता हातमा पाएकी हुन् ।

नागरिकता पाउँदा आशा र उनका श्रीमान् रामदेव मण्डल निकै खुसी भएका छन् । ” आइ हमरा जल्दिए नागरिकता भेटल । एक वर्ष से दौडधूप करैत करैत परेशान छली ,” आशाले नागरिकता प्राप्त गरेपछि भनिन्।

Sponsored

रामदेवले भने, “एक वर्ष मजदुरी र सरसापट गरेर सिडिओ कार्यालय धाउँदै गर्दा निकै पीडा भोग्नुपर्‍यो। तर आज पुनः कागजात पेश गरेपछि केही समयमै श्रीमतीको हातमा नागरिकता पायौं।”

आशादेवीले गत वर्ष २०८० असोजमा नै नागरिकता प्रतिलिपीको लागि वडा सिफारिस र अनुसूची भरेर फाइल पेश गरेकी थिइन्। तर, वर्षभर दौडधूप गरे पनि नागरिकता बनेको थिएन। गत बुधबार, कर्मचारीहरूले उनका फाइल हराएको बताउँदै पुनः वडा सिफारिस र अनुसूची भरेर पेश गर्न भनेका थिए।

छोरा राहुलको नागरिकता बनाउन जाँदा नागरिकतामा समस्या देखिएपछि, प्रशासनका कर्मचारीले पहिले आफ्नो प्रतिलिपी लिन सुझाव दिएका थिए। त्यसपछि, आशाले पुनः नागरिकता प्रतिलिपीको प्रक्रियामा लागिन् ।
आशादेवीको नागरिकता प्रतिलिपी एक वर्षपछि पनि नबनेको समाचार सार्वजनिक भएपछि यो विषय मंगलबार प्रतिनिधि सभामा पनि उठेको थियो। रास्वपाका सांसद मनिष झाले संसदमा प्रश्न उठाएका थिए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *