TodayPati

निजी विद्यालयलाई पनि व्यवस्थापन समिति गठन गर्न निर्देशन

टुडेपाटी-
बारा, माघ २० गते ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले निजी वििद्यालयहरूमा पनि अनिवार्य विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएको छ । नगर शिक्षा ऐन २०७५ को परिच्छेद ५, दफा १९ को उपदफा ६ बमोजिम फागुन १० गतेभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको हो ।

उपमहानगरले २०७५ सालमा नै जारी गरेको नगर शिक्षा ऐन विगतमा पुराना जनप्रतिनिधिहरूले कार्यान्वयन गर्न सकेका थिएन् । नव निर्वाचित नगरप्रमुख राजन पौडेलले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा सो ऐन ल्याउन लागेका हुन् ।

Sponsored

संस्थागत विद्यालय सञ्चालन, व्यवस्थापन र रेखदेख गर्नको लागि प्रत्येक विद्यालयमा व्यवस्थापन समिति गठन गर्नुपर्ने कानुनी प्रावधान छ ।

माघ १० गते उपमहानगरले २४ वटै वडाका रहेका निजी विद्यालयहरूलाई पत्र पठाएर फागुन १० गतेभित्र कार्यान्वयन गर्ने गरी व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएको हो ।
उपमहानगरले जारी गरेको शिक्षा ऐनको परिच्छेद ६ मा संस्थागत विद्यालयको सञ्चालन, व्यवस्थापन र रेखदेख गर्नका लागि प्रत्येक विद्यालय संस्थापकले तोकेको शिक्षा प्रेमी, समाजसेवी र अभिभावक मध्येबाट १ जना व्यवस्थापन समितिको अध्यक्ष रहने, सम्बन्धित वडाका जनप्रतिनिधिमध्येबाट नगर शिक्षा समितिले मनोनयन गरेको १ जना, नगर शिक्षा समितिद्वारा मनोनीत १ जना, स्थानीय शिक्षा प्रेमी तथा समाजसेवी, सम्बन्धित विद्यालयका शिक्षकहरू मध्येबाट १ जना,अभिभावकहरू मध्येबाट १ महिलासहित २ जना, नगर शिक्षा प्रमुखले तोकेको शिक्षा क्षेत्रको कर्मचारी १ जना र विद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहने गरी ८ सदस्यीय व्यवस्थापन समिति रहने कानुनी व्यवस्था छ ।

जीतपुरसिमरा उपमहानगर अन्तर्गत मात्रै गुठी र कम्पनीमा दर्ता भएका गरी ५३ वटा निजी विद्यालय रहेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *