पत्रकार क्रान्तिलाई ज्यान मार्ने धम्की दिने मेयरलाई कारवाही गर्न सीडिओलाई ज्ञापन
टुडेपाटी–
जनकपुरधाम, पुस १७ गते ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाले जनकपुरधामका पत्रकार शैलेन्द्र महतो क्रान्तिलाई ज्यान मार्ने धम्की दिने धनुषाको विदेह नगरपालिका मेयर बेचन दास तत्मालाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
आइतबार धनुषा शाखाकी अध्यक्ष मनिका झाको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई मेयर दासलाई कारवाही गर्न ज्ञापन पत्र बुझाएका छन् ।
मधेश प्रदेशको सर्वोच्च निकाय कानून बनाउने थलो प्रदेशसभा परिसरम पत्रकार महतोमाथि गैरजिम्मेवार, अपमानजनक र अभद्र व्यवहार गरेका नगरप्रमुख दासलाई अभिलम्ब कानुन बमोजिम कारबाही गर्न सीडिओलाई ध्यानाकर्षण गराइएको छ ।
महासंघले नगरप्रमुख दासलाई कारबाही नभए चरणवद्ध आन्दोलनमा जान वाध्य हुने चेतावनी समेत दिएको छ ।
‘नगरप्रमुख दासले सार्वजनिक रुपमा पत्रकार महतो सहित अन्य पत्रकारहरुलाई समेत कुटपिट गर्ने जस्ता अभिव्यक्ति दिनु कानूनी राज्यको उपहास हो । तसर्थ यस्ता गैरजिम्मेवार, अपमानजनक र अभद्र व्यवहार गरेका नगरप्रमुख दास प्रति नेपाल पत्रकार महासंघ धनुषा शाखा खेद प्रकट गर्दै उनले गरेको क्रियाकलापका लागि उनी माथि कानूनी कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय धनुषा सहित सम्वन्धित निकायलाई ध्यानाकर्षण गराउंदछौं । यथाशिघ्र नगरप्रमुख दासलाई कानूनी दायरामा नल्याईए नेपाल पत्रकार महासंघ धनुषा शाखा चरणवद्ध आन्दोलनमा जान बाध्य हुने जानकारी गराउदछौं’ ज्ञापनपत्रमा लेखिएको छ ।
Sponsored