मधेश प्रदेश : यस स्थानीय तहमा ट्राफिक व्यवस्थापनका लागि पार्किङ स्थल निर्धारण
टुडेपाटी–
वीरगञ्ज, मंसिर २३ गते ।
वीरगञ्ज महानगरपालिकालाई व्यवस्थित बनाउने अभियानको क्रममा ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला सक्रिय भएका छन् ।
महानगरको मुख्य बजार क्षेत्रमा विद्यमान पार्किङ समस्या समाधान गर्न सरोकारवाला सक्रिय भएका हुन् । सोही क्रममा ५ ठाउँमा पार्किङ स्थल निर्धारण गरिनुका साथै केही स्थानमा सडकमा पार्किङ निषेध गर्ने निर्णय समेत गरेको छ ।
चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधन व्यवस्थापनका लागि बिर्तास्थित मालपोत कार्यालय प्राङ्गण, हजारी मल ट्रष्टको जमिन, पुरानो बसपार्क भित्र, गीता मन्दिर छेउको जग्गा र घण्टाघर नजिकको वीपी उद्यानको जमिनलाई पार्किङ स्थलको रुपमा तोकिएको छ ।
हजारी मलको जग्गा स–शुल्क पार्किङका लागि प्रयोग गर्ने निर्णय यसअघि नै भइसकेको छ भने वीपी उद्यानको जग्गा पार्क बनाउने बाहेक अन्य प्रयोजनमा प्रयोग नगर्न उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले आदेश गरिसकेको छ ।
यस्तै, वीरगञ्ज उद्योग वाणिज्य संघदेखि मकालु चोक, आदर्शनगर हुँदै माइस्थान मन्दिरसम्म र घण्टाघर चोकदेखि लिंकरोडको दुवै तर्फ चार पांग्रे सवारी साधन पार्किङ २४ सै घण्टा निषेध गरिएको छ ।
Sponsored
आदर्शनगर क्षेत्र र आदर्शनगरदेखि अलखियामठसम्म मुख्य सडकमा दुई पाङ्ग्रे सवारी पार्किङमा समेत रोक लगाउने तयारी भईरहेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले बताए ।