मधेश प्रदेश : युवा–युवती फरार भएपछि युवाका काका बन्धक, प्रहरी उद्धार गर्न जाँदा झडप
टुडेपाटी–
सर्लाही, असोज ३० गते ।
सर्लाहीमा युवा युवती फरार हुँदा स्थानीयले युवकका काकालाई बन्धक बनाउँदा प्रहरी उद्धार गर्न जाँदा झडप भएको छ ।
शनिबार जिल्लाको चन्द्रनगर गाउँपालिका २ बबरगञ्जस्थित स्थानीयसँग प्रहरीको झडप हुँदा ६ जना प्रहरी घाइते भएका छन् भने ३ राउड अश्रुग्यास प्रहार गरिएको छ।
स्थानीय धर्मेन्द्र साहको २० वर्षीया छोरी र भक्ती यादवका २२ वर्षीय छोरा असोज १३ गते फरार भएको विषयलाई लिएर केटी पक्षले केटाको काका ६२ वर्षीय गणेश रायलाई कुश्वाहा धर्मशाला बबरगञ्जमा बन्धक बनाइ राखेका थिए।
रायलाई बन्धक बनाइएको खबर पाएपछि प्रहरी उद्धार गर्न जाँदा झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।
रायलाई प्रहरीको टोली उद्धार गर्न जाँदा करिब २५०÷३०० जना मानिसहरू जम्मा भई प्रहरीमाथि ढुंगामुढा प्रहार गरी नम्बर नखुलेको अपाचे मोटरसाइकलमा आगजनी गरेका थिए। सोही झडपलाई नियन्त्रणमा लिन खोज्दा ६ जना प्रहरी घाइते भएको प्रवक्ता यादवले बताए।
Sponsored
प्रहरीले ढुंगामुढा गर्ने १५ जनालाई नियन्त्रणमा लिएपनि पछि ८ जनालाई छाडेको र ७ जनालाई नियन्त्रणमा राखी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।