सुविधासम्पन्न गुणस्तरीय बनाउन बर्दिवास र धुलिखेल अस्पतालबीच सहकार्य
टुडेपाटी-
महोत्तरी, भदौ २ गते ।
महोत्तरीको बर्दिबास अस्पताल र काभ्रेको धुलिखेल अस्पतालबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पहलमा १० बुँदे सहकार्य सम्झौता भएको हो । बुधबार धुलिखेल अस्पतालले बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद क्षेत्री र नेता पोखरेललाई बोलाएर सम्झौता गरेको छ ।
यसअघि पनि नेता पोखरेलले धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रम निर्देशक डा.विराज कर्मचार्यलाई बर्दिबास अस्पतालमा ल्याएर सर्वपक्षीय अन्तरक्रिया गराएका थिए । बर्दिबास आउँदा नै प्रारम्भिक डकुमेन्टमा हस्ताक्षर गरिसकेको बताउँदै बुधबार औपचारिकता मात्र पूरा गरेको अस्पताल प्रशासनले जनाएको छ । धुलिखेल अस्पतालले सहकार्य सम्झौता गरेको बर्दिबास अस्पतालसहित देशैभरि १२ पुगेको छ । अस्पतालको सहकार्यमा दोलखाको एक अस्पताल अहिले उक्त जिल्लाको नमुना अस्पताल बनेको छ ।
औपचारिक रूपमा सहकार्य सम्झौता भएसँगै बर्दिबास अस्पतालको प्राविधिक व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको नेता पोखरेलले बताए । पाँच वर्षसम्म क्रियाशील रहने सम्झौतामा यथाशीघ्र आइसीयु सञ्चालन गरिने पनि उल्लेख छ । आवश्यक पर्ने जनशक्ति र स्वास्थ्यकर्मीहरू अस्पताललाई प्रदान गरेर बर्दिबास अस्पताललाई सुविधासम्पन्न र गुणस्तरीय बनाउने विषयमा पनि सहकार्य गर्नेगरी दुवै पक्षबीच सम्झौता भएको छ ।