TodayPati

नागरिकता विधेयक फिर्ता पठाएको भन्दै जनमत पार्टीद्वारा राष्ट्रपति विरुद्ध प्रदर्शन

टुडेपाटी
जनकपुरधाम, साउन ३० गते ।

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता विरुद्ध प्रदर्शन गरेको छ । सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तरगत सिरहाको गोलबजार सडक खण्ड अवरुद्ध गरी जनमत पार्टीका कार्यकर्ताहरुले राष्ट्रपति विद्या देवी भण्डारी विरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पुगेको नागरिकता विधेयक राष्ट्रपति विद्या देवी भण्डारीले आइतबार फिर्ता गरेकी छिन् । जसको विरोधमा जनमत पार्टीले मधेशका विभिन्न जिल्लामा प्रदर्शन गरिरहेको पार्टीका नेता बीपी साहले जानकारी दिएका छन् ।

Sponsored

‘राष्ट्रपतिको कदम निन्दनीय र जनहित विपरीत रहेकोले यसको विरोध गरेका छौं।’ नेता साहले भने,‘नागरिकता नपाएर केहीले आत्महत्या गरिसकेका छन्। धेरैले मानसिक यातना खेपी रहेका छन् । तर, सात वर्षदेखि राज्यले नागरिकता विहिनहरुमाथि यातना थोपर्दै गएको छ।’

नागरिकता विहिनहरुलाई नागरिकता नदिने भए शरनार्थी घोषणा गर्न नेता साहले माग गरे ।

‘नेपाल सरकारले उनीहरुलाई नेपाली भनेर नागरिकता दिन सक्दैन भने उनीहरुलाई शरनार्थी घोषणा गरोस्। शरणार्थीको पहिचान लिएर भएपनि उहाँहरुले गुजारा गर्न सक्ने छन्। मुद्दा लड्न सक्ने छन्।’ नेता साहले भने,‘तर नेपाली पनि नमान्ने र जीवन जिउन पनि कठिन बनाउने यस्तो शासन चाहिँदैन।’

Sponsored

नागरिकता विहिनहरुलाई तत्काल नागरिकता उपलब्ध गराउन माग गर्दै नेता साहले तत्काल संसदबाट नागरिकता विधेयक पुनः प्रमाणिकरणका लागि पठाउन आग्रह गरे।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *