सर्लाहीमा हत्या गर्ने दुई युवक प्रहरीको फन्दामा
टुडेपाटी-
जनकपुरधाम, साउन १९ गते ।
सर्लाहीमा हत्या आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेका छन् । जिल्लाको हरिपुर्वा नगरपालिका ३ धनकौलका १८ वर्षीय अजयकुमार यादव र १९ वर्षीय कृष्ण भन्ने विश्वजित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
साउन १३ गते बेलुकाबाट बेपत्ता भएका स्थानीय १९ वर्षीय सुशील रायको शव १६ गते बिहानको समयमा श्री राष्ट्रिय आधारभुत विद्यालय धनकौलको कम्पाउण्डको पश्चिमतर्फ रहेको पुरानो शौचालयको सेफ्टी ट्यांकीमा फेला परेको थियो ।
सुशीलको टाउँको, कन्चट, घाँटी तथा हात समेतमा धारिलो हतियार छिनो समेतले प्रहार गरी बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
यस घटनामा अनुसन्धानको क्रममा दुवै युवकलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको उनले बताए ।
Sponsored