TodayPati

चुरे विनाशको कथा र व्यथा

राजकरण महतो-
महोत्तरी, असार २६ गते ।

चुरेका खोलानालामा २०६० पछि क्रसर खोल्ने क्रम सुरु भयो। क्रसरवालाले राजनीतिक आडमा प्रहरी र प्रशासन मिलाए।
‘तोरा बेटाके खोलामे क्रसरवाला टिफरसे पिचदेलकौं। (तेरो छोरोलाई खोलामा क्रसरवालाले टिपरले पिचिदियो)’, सुतिरहेकी चन्द्रकला देवीलाई ओछ्यानमै पुगेर कसैले सुनायो। उनी आत्तिए, २०७६ पुस २५ गतेको झिसमिसे बिहानीमा। हस्याँङफस्याँङ गर्दै घरको पूर्वतिरको खोलामा दौडिइन् उनी। छोरा दिलीप महतो भेटिए तर प्राण उडेर विलय भइसकेको थियो। यो नदी धनुषाको चुरेको भावर क्षेत्रमा पर्छ। जहाँ बेपरवाह दोहन छ। उत्खनन रोक्न उनी साथीसँगै बिहानै गएका थिए। साथी भागेर ज्यान जोगाए। तर, इन्जिनियरिङ पढ्दै गरेका दिलीप त्यही मारिए।

अढाई वर्षअघि धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरमा कहालिलाग्दोे घटना घट्यो। चन्द्रकलालाई छोरा मारिएको घटनाले अझै झस्काइरहन्छ। वातावरण संरक्षण अभियन्तालाई तर्साइरहन्छ। रिपोर्टिङको क्रममा तस्करको चुंगलबाट कयौंपटक भागेर ज्यान जोगाएको सम्झन्छु। अन्तिम पटक २०७७ सालमा महोत्तरीको गौशालामा हामीलाई क्रसर माफियाका बाउन्सले लखेटेका थिए। यसले चुरे दोहनमा संलग्न माफियाको साम्राज्यलाई प्रस्टै बुझाउँछ।

Sponsored

चुरे दोहनविरुद्ध नागरिक

असार २ गते चुरे दिवस पर्छ। यो दिवसले जनजनमा चुरेको महŒव बुझाउने काम गर्छ। यही बहसबाट उत्प्रेरित थिए दिलीप। उनको हत्यापछि चुरे संरक्षणको मुद्दा झनै पेचिलो बन्यो। संरक्षणको स्वरहरू थपिँदै गए। नागरिकमा चुरेप्रति सचेतता बढ्दै गएको छ। तराई र पहाडबीचमा छ चुरे। जुन भू–बनावटले कमजोर छ। प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरेमा चिन्ता जताए। २०७१ असार २ मा राष्ट्रपति चुरे–तराई÷मधेस संरक्षण विकास समिति गठन भयो। अनि सुरु भयो, चुरे संरक्षणको अभियान। यो खबरदारीमा नागरिकहरू स्वस्फूर्त अनवरत जुटिरहेका छन्। समितिले काम थालेको आठ वर्ष पूरा भएको छ। चुरे–तराई मधेस संरक्षण तथा व्यवस्थापनसम्बन्धी २० वर्षे गुरुयोजना’ को समीक्षा चलिरहेको छ। अब सरकार गुरुयोजना परिमार्जनको तयारी छ।

पेस्तोल देखाएर दोहन

Sponsored

यहाँ दिलीपको हत्याअघि अर्को घटना बडा अनौठो ढंगले भएको थियो। धनुषाको बटेश्वर गाउँपालिका–१ का मनोजकुमार कुशवाहा २०७६ जेठ २५ मा खोलाबाटै पेस्तोलसहित पक्राउ परे। उनी पेस्तोल देखाउँथे, गाउँलाई धम्क्याउँथे। नदीजन्य पदार्थ उत्खननका लागि अवरोध हटाउँथे। उनको न कुनै क्रसर उद्योग थियो न त उनी ठेकेदार नै। उनी नदी खन्ने ठेकेदारको बाउन्स थिए। क्रसर व्यवसायमा छिट्टै धेरै आम्दानी हुन्छ।

क्रसर माफियाले गुण्डा पाल्छन्। पेस्तोल, खुकुरी बोकाउँछन्। दिउँसै खोला खनिन्छ। दोहनविरुद्ध आवाज उठाउने दिलीप जस्ताको जीवन सूर्य अस्ताएजस्तै हुन्छ। तर, सरकार तस्करका अघि निरीह चरित्र देखाउँछ। चुरिया पहाड र भावर क्षेत्र क्रसर सञ्चालकका लागि कमाउने ‘सेतो हात्ती’ उर्बर थलो र राजनीतिक तथा प्रशासनिक संरक्षण दिनेका लागि सधैं दूध दिने ‘लैनो भैंसी’झैं छ। जनप्रतिनिधि र प्रहरी प्रशासनलाई मिलाउन सकियो भने दोहन गर्नेको मुठ्ठीमा कानुन पुग्छ। चुरेको नदीजन्य पदार्थमा तस्करको गिद्धे नजर छ। चुरेमा गुण्डाको जगजगी छ।

न्याय माग्दा गोली दागियो

पाँच वर्षपहिले सर्लाहीस्थित बाँके खोलाबाट एउटा अर्को दुःखद् खबर फैलियो। यस्तै जेठको महिना हुुनुपर्छ। क्रसरवालाले गहिरो खाडल खनेर बालुवा–गिट्टी झिकेका थिए। बाढी आयो। ईश्वरपुर नगरपालिका–१३ का १२ वर्षीय अमित रायले त्यसै खाल्डोमा डुबेर ज्यान गुमाउनु प¥यो। क्रसरवालाको ज्यादतीविरुद्ध स्थानीयले राजमार्ग घेरे। प्रहरीले सडक खुलाउन गोली चलायो। २७ वर्षीय केवल महतोको छातीमा लाग्यो। न्याय मागिरहेका उनी त्यहीँ ढले।

माथि उल्लेखित घटनाहरू चुरे संरक्षण सवालमा भएका चर्चित घटनाक्रम हुन्। जुन दोहनविरुद्ध नागरिक सचेत भएको प्रमाण पनि हो। ‘चुरेकोे उत्पादन सफा पानी हो। यो उसको प्राकृतिक गुण पनि। जसलाई वातावरणीय सेवा पनि भनिन्छ’, चुरेविज्ञ डा. विजयकुमार सिंह भन्छन्। तर, अचम्म ! चुरेमै पानी हराउँदो छ। बर्खामा गर्जिएर आउने बाढीले बस्ती त के मान्छे नै निल्छ।

बेपरवाह चुरे दोहन

मधेसको ३७ जिल्लामा चुरे फैलिएको छ। दुई दशकदेखि तराईमा पिउने पानीको समस्या चुलिँदो छ। अनि बाढीको वितण्डा खपिनसक्नु। कुनै बेला वरदान थियो चुरे। अहिले किन अभिशाप बन्यो ? प्रश्न अनुत्तरित छ। चुरेविज्ञ सिंह सुनाउँछन्, ‘चुरेको उत्पादन बालुवा, गिट्टी, ढुंगा, काठ हो भनेर गलत बुझाइ भयो। अनि चुरेको दोहन तीव्र भयो। वन फँडानी बढ्यो।’

विज्ञहरूका अध्ययनअनुसार चुरे निकै संवेदनशील पहाड हो। महाभारत शृंखलासँगैको दक्षिण भागमा स–साना थुम्का छन्। तराईको समथर भागको उत्तरपट्टी हरियाली वनजंगलले भरिएको लोभलाग्दो डाँडाजस्तो देखिन्छ। हो, त्यसैलाई चुरे भनिन्छ। जनबोलीमा चुरिया पनि भनेर बुझिन्छ। बालुवा, गिट्टी, भुसभुसे माटोको समिश्रणले चुरे पहाडको आकारमा छ। यसको संवेदनशीलता कुरै नगरौं, बाख्राले खुट्टा टेक्दा पहिरो जान्छ। तर, यहाँ डोजर लगाएर बेपरवाह दोहन गरिन्छ। जुन मधेस मरुभूमिको मुख्य कारक बनेको छ। चुरे माफियाले बहुमूल्य प्राकृतिक स्रोत मासिरहेका छन्। उनीहरूका अघि प्रहरी, प्रशासन र सरकार बुख्याँचा जस्तै बनेका छन्।

संकटग्रस्त अन्नको भकारी

चुरे जलको भण्डार हो भने मधेस अन्नको भकारी । चुरेको अर्को भाग भावर क्षेत्रमा पर्ने नदीहरूको दोहनले जलको भण्डार नष्ट हुँदैछ। अनि मधेस पनि अन्नको भण्डारबाट च्युत हुँदैछ। हराभरा मधेस बालुवा गिट्टीले पुरिँदैछ, मधेस मरुभूमीकरण हुँदैछ। चुरे दोहनले देशको सांस्कृतिक, सामाजिक, राष्ट्रिय एकताको पहिचानमा असर पु¥याइरहेको छ। तराई भनेको आधा नेपाल हो। नेपालको जनगणना २०६८ अनुसार, १ करोड ४७ लाख ४८ हजार ६ सय ७२ जना मानिस चुरेआसपास फैलिएको मधेसमा बसोबास गर्छन्। अन्न, पानी, प्राणवायु, जडीबुटी, फलफूल, कन्दमूललगायत सबै चिजवस्तु उनीहरू चुरेबाटै उपभोग गर्छन्।

खुम्चिँदै चुरिया वन

चुरेमा विनाश लीला बढ्दैछ। चुरिया क्षेत्रमा वनजंगल घट्दै गइरहेको छ। सन् १९८६ मा ल्यान्ड रिसोर्स म्यापिङ प्रोजेक्टले सार्वजनिक गरेको रिपोर्टअनुसार चुरेमा १४ लाख ५० हजार ५ सय ४१ हेक्टर वन क्षेत्र थियो। सन् २०१० मा फोरेस्ट रिर्सोस सर्भेको प्रतिवेदनले चुरियाको क्षेत्र घटेर १३ लाख ७३ हजार ७ सय ४३ हेक्टरमा सीमित भएको देखाउँछ । त्यसयता अध्ययन भएको रिपोर्ट हात परेको छैन। तर, चुरेका वन घट्दो क्रममा रहेको सत्य छ।

जलको मुहान हराइरहेको छ। बाढीले जमिन बगाइरहेको छ। जंगल मासिने क्रम बढेको छ। वनबाट जीवजन्तु गाउँ पसेको छ। अब स्थानीय कहाँ जाने ? दैनिक बाघ, चितुवाले मान्छेको ज्यान लिइरहेको खबरहरू आइरहेका छन्। दुर्भाग्य, राजनीतिक दल र नेताकै संरक्षणमै चुरेमा अहिले क्रसर डनको बिगबिगी छ। हालैको चुनावबाट गाउँको सिंहदरबारमा नयाँ जनप्रतिनिधि आएका छन्। कतिपय चुरे दोहनबाट अकुत कमाएका छन्। उनीहरूबाटै चुरे असुरक्षित छ। स्थानीय सरकारले खोला ठेक्का लगाउँछन्। सेटिङ मिलाएर चुरे क्षेत्रका खोला दोहन गरिन्छ।

यहाँ मापदण्डविपरीत क्रसर सञ्चालनमा छन्। उनीहरूको उत्खनन रोकिने छाँट छैन। ‘त्यस्ता क्रसर उद्योगलाई न कानुनले छोएको छ, न त प्रहरी–प्रशासनले नै ध्यान दिएको छ। राजनीतिक दलहरूले यतातिर दृष्टि लगाउने कुरै भएन, किनकि उनीहरू नै त हुन् क्रसर डन पोस्नेहरू’, सामुदायिक वन उपभोक्ता महासंघ मधेस प्रदेशका अध्यक्ष सोमप्रसाद शर्मा भन्छन्, ‘तस्करका लागि चुरे ‘सेतो हात्ती’ हो। पाखामा डोजर भिडाउनासाथ कमाइ सुरु भइहाल्छ। छिनभरमै मालामाल। प्रहरी प्रशासनलाई भेटी चढायो। अनि लाइन मिलायो। यस्तै हुन्छ।’

बाढीले अर्को तनाव

चुरे दोहनले बढाएको अवैध कार्यलाई नरोक्ने हो भने यसले समाजलाई प्राकृतिक, सामाजिक, आर्थिक, सांस्कृतिक सबै रूपले चपेटामा पार्दै जानेछ। चुरेको काखमा अवस्थित तराईमा देशको ५० प्रतिशत जनताको बसोबास छ। तर, उनीहरू असुरक्षित महसुस गर्दैछन्। बसोबासको कुरा गर्दा २०७१ सालतिरको घटना याद आयो। महोत्तरीको रातु खोलामा ठूलो बाढी आयो। बर्दिबास नगरपालिका–९ (तत्कालीन पशुपतिनगर गाविस)स्थित गुमस्ता टोलाका एक दर्जन परिवारलाई बाढीले लखेट्यो। त्यो रात झवसी रामको परिवार घरभित्र निद्रामै थियो। अचानक आएको ठूलो बाढीले ज्यान जोगाउनै हम्मे प¥यो। बाढी घर, खेत सबै निल्यो। सुकुम्बासी बनायो। त्यस रातको बाढीले उनी मात्रै होइन, धेरैको यस्तै बिचल्ली बनायो। २०७१ सालअघि चुरेको शिरबाट बगेर आउने रातु खोला बर्दिबासको रातु पुलबाट दुई खोलामा विभाजित भएर बग्थ्यो। तल आएपछि स–साना खोलामा बहाव बदलिन्थ्यो। पुलनजिकै क्रसर व्यवसायीले बेपरवाह बालुवा–गिट्टी खोस्रियो। खोलाको स्वरूप नै फेरियो। बाढीले हाइवेकोे पुल बगायो। यस्ता घटना तराईको चुरे, भावर र समथर मधेसमा बग्रेल्ती छन्।

बाटोमा खोला कुद्यो, बाढीले मान्छे निल्यो

पशुपतिनगरका स्थानीय शत्रुधन यादव भन्छन्, ‘२०२० सालतिर जंगलबाट काठ ढुवानी गर्न बाटो बनाइएको थियो। पछि बाटो खोल्सी हुँदै डरलाग्दो रातु खोला बन्यो।’ रातु खोला विभाजित भएर बग्दा खोलामा पानीको बहाव र बेग दुवै कम थियो। दुई दशकदेखि चुरे संरक्षणमा जुटेका नागदेव यादवका अनुसार मनसुन भित्रिनै लाग्दा खोला किनारका नागरिकहरू त्रसित हुन्छन्। यस्ता घटना दोहोरिरहेका छन्, चुरे असुरक्षित भएकाले। जलवायु परिवर्तन तीव्र छ। पानी नपर्ने, परे बगाएरै लाने। बडो कठिन परिस्थिति छ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकले मधेस प्रदेशमा हुने विपद्लाई थप स्पष्ट पार्छ। विगत १० वर्षयता बाढीको प्रकोपमा परी मधेस प्रदेशमा मात्रै १ सय ५६ जनाले ज्यान गुमाएको तथ्यांक छ। ३० जना अझै बेपत्ता छन्। सडक, पुल, भवन, बस्ती कति बगायो ? ठेगान छैन।

१ सय ६४ नदी भएर चुरेको पानी बग्छ। खोलामा नदीजन्य पदार्थको अवैज्ञानिक उत्खनन छ। यसले बाढीले उर्वर भूमि निल्छ। चुरेबाट बालुवा, गिट्टी, ढुंगा थुपारेर बगर बनाइदिन्छ। एउटा नदीले एक वर्षमा कम्तीमा २० बिघा खेतलाई बगर बनाउँछ। यसो हिसाब गर्दा प्रत्येक वर्ष ३ हजार २ सय ८० बिघा खेतीयोग्य जमिन खोलाले कब्जा गर्दै आएको छ। यो ग्राफ बढ्दै गएको छ। किसानहरू बेघर बनेका छन्।

चुरे विनाशको कथा

२०३६ सालदेखि २० वर्षसम्म चुरे संरक्षित थियो। २०५६ पछि प्रहरी–प्रशासनको ध्यान माओवादी द्वन्द्वतिर केन्द्रित भयो। वनरक्षकले चुरे सुरक्षामा जान आँट गरेनन्। त्यही बेला तस्करहरू चुरे पसे। तस्करले दिनदहाडै सखुवा काटेर गाडाबाट लगे। मिथिला नगरपालिका–७ ढल्केवरका ५७ वर्षीय नन्दलाल सिलवाल सुनाउँछन्, ‘चुरेका खोलानालामा २०६० पछि क्रसर खोल्ने क्रम सुरु भयो। सरकारी निकायले आर्थिक चलखेलमा मापदण्ड मिचेर क्रसरलाई स्वीकृति दियो। क्रसरवालाले राजनीतिक आडमा प्रहरी र प्रशासन मिलाए। त्यसपछि सुरु भयो, चुरियाको विनाशलीला।’

निकुञ्ज पनि अतिक्रमणमा

अतिक्रमणले चुरे क्षेत्रमा पर्ने संरक्षित राष्ट्रिय निकुञ्ज पनि खुम्चिँदै गएको छ। जंगली जनावर र मानवबीच द्वन्द्व बढेको देखिन्छ। महालेखा परीक्षकको ५८औं प्रतिवेदनले देशभर १ लाख ३ हजार ७ सय ४७ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको उल्लेख गरेको छ। व्यक्ति, संघसंस्थाको कब्जामा निकुञ्ज छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागअन्तगर्तको ४४ सय हेक्टर वन क्षेत्र अतिक्रमित छ। ‘सुकुम्बासीको नाममा हुकुमबासीहरूले संरक्षित चितवन र बर्दिया राष्ट्रिय निकुञ्जको जग्गा हडपेका छन्’ प्रतिवेदनमा उल्लेख छ। नेपालको कुल भूभागको करिब १२.७ प्रतिशत क्षेत्र चुरेले ओगटेको छ। ३७ जिल्लामा फैलिएको चुरे क्षेत्रले देशको ३ सय ४० स्थानीय तहलाई छोएको छ। आर्थिक वर्ष २०७१÷०७२ देखि २०७६÷०७७ सम्म ९ अर्ब २१ करोड १५ लाख खर्च भइसकेको छ। तर, संरक्षणका काम सन्तोषजनक छैन।

बहुआयामिक चुरे

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको अध्ययनअनुसार चुरेका फाँट बाघ, हात्ती, गैंडा, अर्नाजस्ता ठूला स्तनधारी वन्यजन्तुको बासस्थान हो। जैविक विविधताले चुरे क्षेत्र भरिपूर्ण छ। यो भू–भागमा २ सय ८१ प्रजातिका रुख छन्। १ सय ८६ प्रजातिका बुट्ट्यान अनि वनस्पति पाइन्छन्। जीवजन्तुको विविधताका हिसाबले नेपालमा पाइने १ हजार ९ सय १८ प्रजातिमध्ये १ हजार ३ सय ८ चुरे तथा तराई मधेसमै पाइन्छन्। नेपालमा संकटमा रहेका ४ सय ९३ प्रजातिका जीवजन्तु चुरेमै रमाइरहेका छन्। जीवजन्तु र चराचुरुंगी चुरेको गहना हो भने मानवका लागि जीवन। ‘संरक्षित चुरे रहँदैन भने हाम्रो प्रकृति सुन्दरताविहीन बन्छ’, वातावरण संरक्षण अभियन्ता तथा मधेस प्रदेशका प्रदेश सभा सदस्य रामआशिष यादव भन्छन्, ‘अनि मधेसको प्राण र देशको लाइफलाइन पनि। आउँदो पुस्ताका लागि हामीले चुरे संरक्षण गरेरै उपहार दिनु हामी सबैको कर्तव्य हो।’ चुरे हाम्रा लागि रीतिथिति र संस्कृति मात्रै होइन, सबैथोक हो भन्दै उनी चुरेको संरक्षणको विकल्प नरहेको सुनाउँछन्।

‘गुम्दै गएको चुरे फर्काऔं’

चुरे दोहन हरहालतमा रोक्नै पर्छ। यसो गर्दा चुरको घाउमा ५० प्रतिशतले मलहमपट्टी लाग्छ। नाङ्गो फाँटमा वृक्ष हुर्काउँदा गुमेको चुरियाले गुमाएको अर्को ५० प्रतिशत तागत फर्किन्छ। तटबन्धले पहिरो र बाढी रोकथामका लागि अल्पकालीन सहारा मात्रै बन्छ। बासजन्य वनस्पतिले चुरेको लाइफ बढाउँछ। बजेटले खन्याएर चुरे संरक्षण नहुने वातावरण अभियानीहरू बताउँछन्।

‘चुरेलाई त्यहाँका स्थानीय जनजीवनसँग जोड्नु पर्छ। खोलाको बगरलाई बगैंचा बनाऔं। बालुवा–गिट्टी होइन, फलफूल र जडीबुटी बिक्री गरौंं। चुरेमा ताल बनाऔं। तराईंका फाँटमा धान, मकै, तोरी फलाऔं। जसले गरिबी न्यूनीकरणमा प्रत्यक्ष सहयोग पुग्छ, खाद्यान्नको आयात घटाउँछ’, मधेसमा हरित अभियान चलाइरहेका पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेल भन्छन्, ‘यसले खल्बलिएको चुरेको पारिस्थितिक प्रणालीलाई पनि सन्तुलित बनाउँछ।’

चुरेले प्राकृतिक रूपमै नदीजन्य पदार्थ उपहारको दिन्छ। चुरेविज्ञ सिंह थप्छन्, ‘चुरेलाई सुझबुझ ढंगले उपयोग गरौं। प्राकृतिक स्रोतसाधनको संरक्षण र उपयोगको जिम्मा गाउँका सिंहदरबारको काँधमा छ। गाउँस्तरबाटै चुरेको संरक्षण सम्भव छ। बदमासी गर्ने जनप्रतिनिधिलाई खबरदारी गरेर लगाम लगाऔं। चुरे नागरिकको हो। यहाँ माटो, बालुवा, जीवजन्तु, वालुवा–गिट्टी, जडीबुटी सबै हाम्रा सम्पत्ति हुन्। चुरे जोगाऔं।’

चुरे जलको भण्डार हो भने मधेस अन्नको भकारी हो। चुरेको अर्को भाग भावर क्षेत्रमा पर्ने नदीहरूको दोहनले जलको भण्डार नष्ट हुँदैछ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *