धनुषाधाममा चिडियाखाना निर्माण गरिने
टुडेपाटी–
जनकपुरधाम, फागुन २७ गते ।
धनुषा जिल्लाको धनुषाधामा प्राणी उद्यान (चिडियाखाना) निर्माण गरिने वन तथा वातावरण मन्त्री रामसहाय यादवले बताएका छन् ।
धनुषाधामस्थित वनस्तपति अनुसन्धान केन्द्रको वस्तपति उद्यानको अनुगमन तथा निरीक्षण गरेका मन्त्री यादवले मधेश प्रदेशको धार्मिक तथा ऐतिहासिक महत्वको धनुषाधाममा वनस्पतिसम्बन्धी अध्ययनको केन्द्र र प्राणी उद्यानको रुपमा विकास गरिने बताए।
उनले धनुषाधाममा प्राणी उद्यानको प्रवल सम्भावना रहेकाले त्यसको लागि सरकारले अध्ययन अनुसन्धानको कार्य अगाडि बढाइसकेको बताए।
मन्त्री यादवले वस्तपति, वन र चुरे एकअर्कालाई जोडिरहेको र यहाँ प्राणी उद्यान स्थान भएको खण्डमा मधेश प्रदेशको आर्थिकका साथसाथै पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताए।
मन्त्री यादवले अहिले रहेको वनस्तपति अनुसन्धान केन्द्रलाई व्यस्थित गर्दै वस्तपतिसम्बन्धी अध्ययन गर्ने विद्यार्थीको अध्ययन अनुसन्धान केन्द्रको रुपमा विस्तार गर्न संघीय सरकारले योजना बनाइरहेको बताए ।
Sponsored
‘वस्तपति उद्यान केन्द्रमा लोपोन्मुख अवस्थामा रहेका विभिन्न प्रजातिका वस्तपति, बिरुवाहरुलाई संरक्षण गर्दै आएको छ,’ मन्त्री यादवले भने, ‘यसलाई अझ व्यवस्थित बनाउन सकेमा नेपालभरिका वनस्पतिसम्बन्धी अध्ययन अनुसन्धानका लागि धनुषाधाम केन्द्र बन्न सक्छ।’
वनस्पति अध्ययन तथा अनुसन्धान केन्द्र जनकपुरका निमित्त प्रमुख ताहिर हुसेनले वस्तपति केन्द्रको अवस्थामा बारे मन्त्री यादवलाई जानकारी गराएका थिए। जग्गा पर्याप्त भए पनि बजेटको अभावमा वस्पतिले लक्ष्यअनुसारको काम गर्न सकेको हुसेनको भनाइ थियो।