धनुषामा फलफुल पसलमा गाँजा बेच्ने युवक प्रहरीको फन्दामा
टुडेपाटी–
जनकपुरधाम, फागुन १८ गते ।
धनुषामा फलफुलको पसलमा लागुऔषध गाँजा बेच्ने एकजना प्रहरीकोे फन्दामा परेका छन् ।
पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ का १९ वर्षीय अरुण कुमार साह रहेका छन् । प्रहरीले उनलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
गोप्य सूचनाको आधारमा धनुषा प्रहरीले बुधवार विहान करिब ११ बजे फलफुलको पसलबाट लागुऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको हो ।
क्षिरेश्वरनाथ नगरपालिका–५ दुधमती चौक स्थित रवि साह र उनका छोराले सञ्चालन गरेको फलफुल पसलमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले खानतलासी गर्दा डिस्पोजल झोला भित्र कागजको पुरिया बनाई बिक्री वितरण गर्न तयारी अवस्थामा राखिएको गाँजाको पुरीया १३ थान बरामद गरिएको हो । बरामद गरिएको गाँजा ९० ग्राम रहेको छ ।
यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Sponsored