TodayPati

धनुषामा यस्तो छ तस्करीको संजाल, सशस्त्र प्रहरीका घुमुवा तस्करका दूत

जनकपुरधाम, फागुन ११ गते ।

धनुषामा तस्करी नियन्त्रणमा प्रहरी सक्रिय भएकै देखिन्छ । तर घुमुवाहरुमार्फत् सेटिङ मिलाएर निर्वाध तस्करी भइरहेको छ । घुमुवाहरुले तस्करको सूचकका रुपमा काम गर्दैआएका छन् ।

नेपाल–भारत सिमा इनर्वाबाट मदिरा तस्कर गिरीजी, मिन्टु, इन्द्रेश गोइत, भोगी यादव, गणेश गोइत र कपडाका मुख्य तस्कर शत्रुघनसँग मोटो रकम लिई सशस्त्र प्रहरीका दिपेश सिंहले लाइन दिएको स्रोत बताउँछ ।

Sponsored

त्यस्तै जटही र फुलगामा नाकाबाट लाइन पाउनेहरुमा उमेश साह, सुल्तान मियाँ, बिन्देश्वर नायक, फेकन लगायतका तस्करहरु छन् । नेपालबाट मुख्यतः रक्सी, स्याउ, कोलगेट टुथपेस्ट, फेयर लबली, सुपारी लगायतका मालसामान भारत पठाउने गरिएको छ । अहिले नेपालबाट ड्रोन क्यामराको तस्करी समेत बढी हुने गरेको स्थानीय मुखियापट्टि मुसरनियाँ गाउँपालिका ३ मा रामउदगार यादब बताउँछन् ।

धनुषाको जनक नन्दनी गाउँपालिका ४ का सोभित साहले दिनरात प्रहरीकै मिलोमत्तोमा तस्करी हुने गरेको आरोप लगाए । उनले भने, ‘हामीले एक बोरा मलखाद ल्याउन पाउँदैनौं, तर रातभरी नेपालबाट भारत मदिरा र भारतबाट लत्ताकपडा सहित अन्य समानहरुको ढुवानी हुन्छ तर हामी किसानले एक बोरा चामल ल्याए पनि सशस्त्र प्रहरीले खोसिदिन्छन ।’

भारतसँग जोडिएको मधेश प्रदेशको आठै जिल्लाको झण्डै ४ सय ६६ किलोमिटर भन्दा बढी दूरीको खुल्ला सीमाना छ । जसमध्ये धनुषामा झण्डै ४९ किलोमिटर पर्दछ । खुल्ला सीमाका कारण हुँदै आएको आपराधिक र अबैध कारोबार नियन्त्रणका लागि सरकारले बाक्लै सुरक्षाकर्मी परिचालन गरे पनि केही दिनयता भने घुमुवाको संरक्षणमा तस्करी फस्टाएको नगराइन नगरपालिकाका स्थानीय विकाउ यादवको भनाइ छ ।

Sponsored

सशस्त्र प्रहरीका घुमुवा कि तस्करका दूत ?

कोरोनाको पहिलो र दोस्रो लहरमा नेपाल–भारत सीमा बन्द भएपछि सीमा वारी–पारी जान–आउन आमनागरिकलाई समस्या भए पनि तस्करका लागि भने कुनै पनि ब्यवधान भएन । तस्करी झन् फस्टाएको छ । मधेश प्रदेशमा सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासले चोरी निकासीलाई पूर्णतः नियन्त्रणका लागि स्क्वार्ड टोली परिचालन गरे पनि सोही मध्येका केहीले भने तस्करीलाई प्रश्रय दिएको पाइएको छ ।

छिन्नमस्ता बाहिनीका तत्कालीन डिआईजी सीपी गौतम सरुवा भई आएकै दिन प्रदेशभरिका मोबाइल प्रहरी ९घुमुवा०हरुलाई बाहिनीमा तानेर उनीहरुलाई पुनर्ताजगी९रिफ्रेस० तालिम गराई प्रदेश २ भन्दा बाहिर सरुवा गरेका थिए । जसको परिणामस्वरुप नयाँ स्क्वार्ड टोलीले प्रदेशको जिल्लाबाट नगद, लत्ताकपडा, गाँजा, जस्ता अवैध रुपमा भित्रने सामान बरामद गरी भन्सारमा बुझाउँदा राजस्व ह्वात्तै बढेको छ ।

हाल डिआईजी गणेश ठाडामगरले तिनै घुमुवाहरुलाई चोरी तस्करी नियन्त्रणमा प्रयोग गरिरहेका छन् । तर धनुषामा सिंगो स्क्वार्ड टिमलाई समेत चक्मा दिने त्यसैमध्येका एक घुमुवा प्रहरी हवल्दार हुन् दिपेश सिंह । जसले पाएको सूचना समेत चुहाई तस्करलाई सहज बनाइदिने गरेका छन् । जिल्लाभरिका भन्सारछली गर्नेहरुसँग सिंहको सेटिङ छ । उनले नै सूचना दिएर तस्करीलाई सहज बनाइदिने गरेका छन् ।

संयुक्त प्रहरी संगठनको बिरुद्धमा गएर सूचना चुहाउने तथा तस्करीलाई संरक्षण गर्ने प्रहरी हबल्दार सिंह जागिरको अधिकांश समय घुमुवाका रुपमा धनुषामै कार्यरत रहँदैआएका छन् । उनी जनकपुरधामस्थित भन्सार सुरक्षा गुल्ममा घुमिफिरी आउने गरेका छन् । तत्कालीन डिआईजी गौतमले भन्सार सुरक्षा गुल्म जनकपुरबाट सशस्त्र प्रहरी तालिम केन्द्र ककनी, नुवाकोट सरुवा गरे पनि शक्तिकोे प्रयोग गरेर सिंह पुनः जनकपुर भन्सारमै फर्केका छन् ।

१३ वर्षको जागिर अवधिमा सिंह ११ वर्ष धनुषामै कार्यरत छन् । ‘घुमीफिरी रुम्जाटार’ भने जस्तै हल्दार सिंह जनकपुर भन्सार सुरक्षा गुल्म बाहेक कहँीकतै बस्दैनन् । हाल उनलाई भन्सार सुरक्षा गुल्मका प्रहरी निरीक्षक भीम श्रेष्ठले घुमुवाको रुपमा परिचालन गरिरहेका छन् । हबलदार दिपेश सिंह पोशाक लगाएर कहिल्यै ड्यटी नगर्नेमा पर्दछन् ।

धनुषाको गणमा जो गणपति आए पनि उनले खुसी पार्दैआएका छन् । यसअघिका एसपी नरेन्द्र सेनलाई पनि उनले खुसी पारेका थिए । सेनले सिंहलाई राम्रो र आकर्षक ठाँउ दिएर संरक्षण गर्दै आएका थिए । सिंहले तस्करसँग सेटिङ गरेर एसपी सिंहलाई पनि ६० प्रतिशत बुझाएकाले उनी रोजेकै ठाउँमा कार्यरत रहन पाए । एसपी सेन हाल सरुवा भएर गएका छन् ।

सशस्त्र प्रहरी बल ८ नम्बर गणको गणपतिमा हालै एसपी प्रकाशकुमार सुबेदी आएका छन् । उनले तस्करका दूत सिंहलाई कारवाही गर्लान् वा विगतका एसपी सेनले जस्तै संरक्षण गर्ने हुन्, त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।

आठ नम्बर गणको सशस्त्र स्रोत भन्छ–‘केही बर्षअघि एक जना तस्करसँग मिलेर सिंहले आफै संगठनमा काम गर्ने प्रहरी हबल्दार चन्देश्वर गिरीलाई घुससहित अख्तियारबाट पक्राउ गर्न लगाएका थिए । त्यस्तै धनौजी गाँउपालिकाका कार्यपालिका सदस्य सञ्जिव साहलाई समेत सिंहले आफ्नै मोटरसाइकलमा लागुऔषध राखेर फसाएका थिए ।’

११ बर्षदेखि धनुषामा घुमुवा बसेका र तस्करहरुको दूतको काम गरेर हवल्दार सिंहले अकूत सम्पत्ति आर्जन गरेका छन् । सिंहले जनकपुर उप–महानगरपालिका ७ र ४ मा गरी दुई ठाउँमा जग्गा खरिद गरेका छन् । साभार : नेपाल फेस

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *