प्रदेश २ : गम्छाले घाँटी कसेको अवस्थामा उखुबारीमा बालकको शव
टुडेपाटी-
पर्सा, पुस २४ गते ।
सर्लाहीमा उखु बारीमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको २४ घण्टा नबित्दै पर्सामा पुनः एक बालकको शव उखुबारीमै फेला परेको छ ।
जगरनाथपुर गाउँपालिका ६ सन्ठीका स्थानीय नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेलको शव गम्छाले घाँटी कसेको अवस्थामा उखुमा फेला परेको हो ।
बालकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।
चारदिनदेखि हराइरहेका बालकको खोजविन परिवारजनले गरिरहेका थिए । तर फेला परेका थिएनन् ।
गाउँको पूर्वपट्टी उखुबारीमा घाँस काट्न गएकी महिलाले बालकको शव देखेपछि गाउँमा खबर गरेकी थिइन् । घाँटीमा गम्छाले कसेको देखिएकाले उनको हत्या समेत हुन सक्ने अनुमान गरिएको छ ।
Sponsored
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चार जनालाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
शुक्रबार दिउँसो सर्लाहीको बरहथवा नगरपालिका–७, कटानीका स्थानीय सुरत रामकी श्रीमती अन्दाजी ३२ वर्षीया सावित्री देवी रामको शव उखुबारीमा फेला परेकी थिइन् ।